अर्थनीति

बालेनका खास मन्त्री स्वर्णिम, ऋण थपिँदा आलोचना, ४० अर्ब नाघ्यो, कस्तो बन्ला नयाँ बजेट ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा सबैभन्दा विज्ञ र क्षमतावान मन्त्रीका रूपमा हेरिएका पात्र हुन् अर्थमन्त्री डा. स्वर्णिम वाग्ले । उनले शक्तिशाली सरकारमा शक्तिशाली मन्त्रालयको कमान्ड सम्हालेको झण्डै दुई महिना पूरा हुन लागेको छ । यो अवधिमा उनले अर्थतन्त्रमा केही सकारात्मक सुधारका प्रयासहरू गरेका छन्, भने केही निर्णयले उनीमाथि ब्याकफायर पनि भइरहेको छ । नेपालको मिश्रित अर्थतन्त्रलाई तीव्र आर्थिक वृद्धिको बाटोमा डो¥याउँदै केही वर्षमा एक सय अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्य बोकेका वाग्लेमाथि धेरैको आशा–भरोसा अड्किएको छ । प्रधानमन्त्री शाहको छाया बनेर काम गरिरहेका उनलाई आफूले चाहेजस्तो आर्थिक उन्नति गर्ने स्वर्णिम अवसर मिलेको छ । यो अवसरसँगै देशलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्नुपर्ने, दिगो विकास लक्ष्य हासिल गर्ने र शिथिल अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने चुनौतीहरू पनि छन् । यस्तो अवस्थामा अहिले सबैको ध्यान आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमा केन्द्रित भइरहेको छ । बजेट लेखनको काम तीव्र गतिमा भइरहँदा दुईतिहाइ बहुमतको बलियो सरकारले ल्याउने बजेटबारे आम तहसम्मै सर्वत्र चासो बढिरहेको छ । जसमा वाग्लेले चालू अवस्थाका आयोजनालाई सम्पन्न गर्ने गरी प्राथमिकताका साथ बजेट विनियोजन गर्ने तयारी गरेका छन् । सरकारले पहल गर्दा चाँडै सकिने आयोजनालाई प्राथमिकताका साथ बजेट विनियोजन गर्ने र त्यसपछि मात्रै नयाँ आयोजनातर्फ लाग्ने रणनीतिमा वाग्ले छन् । विगतकै दायित्व व्यवस्थापनको चुनौतीले अर्थमन्त्री वाग्लेलाई पहिलो बजेटमै नयाँ कार्यक्रमका लागि दबाब पर्ने देखिएको छ ।