अर्थनीति

पेट्रोलियम पदार्थको मूल्यमा फेरि भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो


काठमाडौं— सरकारले पेट्रोलियम पदार्थको मूल्यमा फेरि भारी वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ ।

अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६ रुपैयाँ ५० पैसादेखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य २०४ रुपैयाँ ५० पैसादेखि २०७ रुपैयाँसम्म कायम गरिएको छ । खाना पकाउने ग्यासको मूल्य पनि बढाइएको छ । अब ग्यासको मूल्य २ हजार १० रुपैयाँ पुगेको छ । बजारमा अहिले आधा सिलिण्डर ग्यास मात्रै पाइन्छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँले बढाइएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भइरहेकाले नयाँ मूल्य समायोजन गरिएको नेपाल आयल निगमले दाबी गरेको छ ।

निगमले निरन्तर घाटा बढेमा इन्धन आपूर्ति प्रभावित हुन सक्ने भन्दै उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह गरेको छ ।