Breaking

इजरायलद्धारा लेबननमा भीषण हमला, फेरि बन्द भयो होर्मुज स्ट्रेट


काठमाडौं— अमेरिका–इरान युद्धविरामपछि पनि इजरायलले लेबनानका धेरै स्थानमा हवाई आक्रमण गरेको छ । आक्रमणमा परी २५४ जनाको मृत्यु भएको छ भने १ हजार १६५ जना घाइते भएका छन् । लेबननी नागरिक रक्षा टोलीका अनुसार बेरुत, बालबेक, हर्मेल, नाबाटिएह, एले जिल्ला, सिदोन र टायरमा भीषण हमला भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार इजरायलले लेबननमा आक्रमण गरेपछि इरानले जलमार्ग होर्मुज स्ट्रेट पुनः बन्द गरेको छ । यसअघि लडाकु समूह हेज्बुल्लाहले लेबननमा युद्धविराम लागु नभए सम्झौता तोडिने चेतावनी दिएको थियो ।

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराममा हेज्बुल्लाह नसमेटिएको बताएका छन् । तर, इरानले अमेरिकालाई पठाएको १०बुँदे युद्धविराम योजनामा हेज्बुल्लाहविरुद्ध पनि आक्रमण बन्द गरिनुपर्ने उल्लेख थियो ।

करिब ४० दिनको युद्धपछि मंगलबारराति अमेरिका र इरानबिच दुई हप्ता युद्धविराम गर्ने सहमति भएको थियो । युद्ध सदाका लागि अन्त्य गर्ने विषयमा शुक्रबार पाकिस्तानमा इरान र अमेरिकाका प्रतिनिधिबिच वार्ता हुँदैछ ।