देश

रविले सुम्पिए डीपीलाई ऐतिहासिक मौका, कांग्रेस–एमाले फकाउने चुनौती, सुवास नेम्बाङ बन्ने कि देवराज ? (भिडियोसहित)


काठमाडौं— ज्येष्ठ नागरिकको हैसियतमा प्रतिनिधिसभाको बैठक सञ्चालन गरेका सांसद अर्जुननरसिंह केसीले आइतबार डोलप्रसाद (डीपी) अर्याल सभामुखमा निर्विरोध चयन भएको घोषणा गरे । केसीको घोषणासँगै नेपालको करिब सात दशक लामो संसदीय इतिहासमा देशले १० औं सभामुखको रूपमा अर्याललाई पाएको छ । सभामुखमा निर्विरोध चुनिएपछि केही भावुक देखिएका अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अँगालो हाल्दै खुसी साटेका थिए ।
निर्विवाद सभामुखमा चयन भएका अर्यालले आइतबार नै राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ समेत लिएका छन् । सदनमा रास्वपाको स्पष्ट बहुमतको अङ्कगणितमा एक्लो दाबेदार रहेका उनीसामु अब चुनौतीका पहाडहरू छन् । दलीय संलग्नताको छनक नदेखियोस् भनेर सभामुख भइसकेपछि दलीय आबद्धताबाट अलग रही निष्पक्ष कार्यसम्पादन गर्नुपर्ने प्रमुख भूमिकामा उनी पुगेका छन् । सभामुख सदनमा तटस्थ र निष्पक्ष रहेको प्रत्याभूत गराउनु नै उनका लागि सबैभन्दा ठूलो चुनौती हुनेछ । निष्पक्षता कायम गर्न नसकेको र सभामुखमा दल एवं सरकारको छाया परेको जस्ता विगतका आरोपहरूलाई मनन गर्दै अर्यालले तटस्थ र निष्पक्ष रही कार्यसम्पादन गर्ने नयाँ नजिर बसाल्नुपर्ने चुनौती छ ।