देश

रास्वपामा भागबन्डा ः डीपीको पक्षमा रविको अडान, बालेन फकाउँदै जगदीश, अमरेश र मनिषलाई के ? (भिडयोसहित)


काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आशा र भरोसामा गृहमन्त्री बन्ने दौडमा रहेका डोलप्रसाद (डीपी) अर्यालको सपना यस पटक अधुरै रह्यो । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले गृहमन्त्रीमा अडान लिँदै सुधन गुरूङलाई रोजेपछि डीपीले चाहेर पनि गृह मन्त्रालयको कमाण्ड सम्हाल्न पाएनन् । त्यसैले, गृहको अवसर गुमाएका डीपी अहिले सभामुख बन्ने लाइनमा छन् । सभामुखमा डीपीको नाम लगभग पक्कापक्की जस्तै भए पनि जगदीश खरेलले समेत ‘च्याखे थाप्न’ भने छाडेका छैनन् । तर, गृहमन्त्रीमा रोकिएका डीपीलाई सभामुखमा पनि अवरोध पु¥याउँदा रास्वपाको आन्तरिक राजनीतिमा सन्तुलन खलबलिने जोखिम छ । त्यसैले, रवि लामिछानेले जुनसुकै हालतमा आफ्ना विश्वासपात्र अर्याललाई सभामुखको कुर्सीमा पु¥याउन जोडबल गरिरहेका छन् । मुखैमा आइसकेको गृहमन्त्रीको पद त्याग्नु परेको पीडा भुलाउनकै लागि भए पनि डीपीले सभामुखको दाबी नछाड्ने देखिन्छ ।