काठमाडौं— मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज मध्याह्न १२ बजेर ३४ मिनेटमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउनुहुनेछ । त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ ।
शपथ ग्रहणका अवसरमा सात जना ब्राह्मणले शंखनाद गर्नेछन् । १०८ बटुकहरूले स्वस्तिवाचन गर्नेछन्। त्यस्तै १६ भिक्षुहरूले अष्टमंगल पाठ गर्नेछन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो । शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिएको छ ।
प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने तयारी छ । रास्वपाले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।
०००


प्रतिक्रिया