काठमाडौं— गत भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी अभियन्ताले माग गरेका छन् । जेनजी आन्दोलनमा सक्रिय रहेका युवाले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सामाजिक सञ्जालदेखि सडकसम्म दबाब अभियान थालेका हुन् ।
सरकारले गत असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगलाई भदौ २३ गतेको जेनजी आन्दोलनमा भएको दमन र भदौ २४ गतेको तोडफोड तथा आगजनीका घटनाबारे छानबिन गर्न कार्यादेश दिइएको थियो । ३ महिनाको अवधि पाए पनि समयमै काम नसकेपछि पटकपटक आयोगको म्याद थपिएको थियो । आयोगले फागुन २४ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदन अध्ययन गरेपछि मात्रै सार्वजनिक गर्ने बताउनुभएको छ ।
तर, प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको भन्दै जेनजी अभियन्ताले दबाब अभियान थालेका छन् । जेनजी अभियन्ताले सामाजिक सञ्जालमा ‘कार्की आयोगको पूरा प्रतिवेदन खै ?’ लेखिएको रातो पृष्ठभूमिको प्रोफाइल तस्बिर राख्दै अभियान चलाइरहेका छन् । उनीहरूले आज दिउँसो १ बजे काठमाडौंको माइतीघर मण्डलमा भेला भएर खबरदारी कार्यक्रम गर्ने घोषणा गरेका छन् ।
जेनजी अभियन्ताहरूले प्रतिवेदन सार्वजनिक गराउन सामाजिक सञ्जाल र सडक दुवै माध्यमबाट दबाब सिर्जना गर्न खोजिएको बताएका छन् ।


प्रतिक्रिया