देश

प्रधानन्यायाधीश नियुक्ति ः सपनासहित ६ सिफारिस, बालेनको छनोटमा संवैधानिक परिषद् बन्न सक्छ बाधक (भिडियोसहित)


काठमाडौं— न्यायको मन्दिर मानिने सर्वोच्च अदालत र सिंहदरबारको सत्ता समीकरण सधैं एकअर्काको छायाँमा पर्दै आएका छन् । अब देशले एकल बहुमतसहितको नयाँ सरकार मात्र पाउँदै छैन, सर्वोच्च अदालतले न्यायपालिकाको प्रमुख अर्थात् ३३ औं प्रधानन्यायाधीश पनि पाउँदै छ । आगामी चैत १८ गतेदेखि बहालवाला प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाशमा जाँदै छन् । २०८१ असोज २० गते नियुक्त भएका राउत साढे १ वर्षको कार्यकालपछि अवकाशमा जान लागेका हुन् । आफू अवकाशमा जाने भएपछि एक महिनाअघिदेखि नै प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ गर्न छाडिसकेका छन् । राउतले गत फागुन १८ गतेयता कुनै पनि मुद्दामा सुनुवाइ गरेका छैनन् । अब रिक्त हुने सर्वोच्चको कमान्ड सम्हाल्न न्याय परिषद्ले भावी प्रधानन्यायाधीशको छनोट प्रक्रिया थालिसकेको छ । परिषद्ले योग्यता पुगेका ६ जना न्यायाधीशको रोस्टर (सूची) उनीहरुको वतन, योग्यता, कार्यकुशलता र अनुभवसहितको ‘डकुमेन्ट’ संवैधानिक परिषद्को सचिवालयमा पठाएको छ । जसमा वरिष्ठताको आधारमा सपना प्रधान मल्लको नाम पहिलो नम्बरमा छ भने त्यसपछि क्रमशः कुमार रेग्मी, हरिप्रसाद फुँयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम समावेश छ ।