देश

देशभर प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान जारी


काठमाडौं— आज देशभर प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान भइरहेको छ । बिहानैदेखि देशभरका मतदान केन्द्रमा मतदाता पुग्न थालेका छन् । पाँच वर्षका लागि संघीय संसद्को तल्लो सदनका प्रतिनिधि छान्ने यस निर्वाचनलाई निकै महत्वपूर्णका साथ हेरिएको छ ।

निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । आयोगले आफ्नो मतदाता परिचयपत्र नभएको अवस्थामा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) मध्ये कुनै एक कागजात साथमा लिएर मतदान गर्न सकिने व्यवस्था गरेको छ । आयोगले तोकिएको केन्द्रमा उपस्थित भई शान्तिपूर्ण रूपमा मतदान गर्न अनुरोध गरेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना देशभर परिचालन गरिएको छ । संवेदनशील र अति संवेदनशील केन्द्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ।

मत गन्न सुरु भएको २४ घण्टामा मतगणना सम्पन्न गर्ने तयारी भइरहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् ।