काठमाडौं— सुरक्षालाई नै देखाएर निर्वाचनमाथि आशङ्का गर्दागर्दै अन्ततः देश चुनावको सँघारमा आइपुगेको छ । मौन अवधि लागु भएसँगै चुनावको सुनिश्चितता बढेको छ भने मतदाता र दलहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकार लागिपरेको छ । सुरक्षा संवेदनशीलताका कारण यसअघिका निर्वाचनमा भन्दा सुरक्षा व्यवस्था मजबुत बनाइएको दाबी सरकारले गरिरहँदा देशभरका मतदान स्थल, मतगणनास्थलदेखि मतपेटिकाको सुरक्षाका लागि ३ लाख ३८ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नेपाली सेनाले चुनावी सुरक्षा गस्तीसमेत थालिसकेको छ । तर, सरकारको दाबी र सेनाको गस्तीका बीच पनि चुनाव बिथोल्ने खालका गतिविधिहरू भने जारी नै छन् । मङ्गलबार मात्रै काठमाडौं र सुर्खेतमा यस्ता प्रकृतिका घटना घटे । निर्वाचन बिथोल्ने उद्देश्यले संघीय राजधानी काठमाडौंको महाराजगञ्ज र नैकापमा दुई वटा गाडीमाथि आगजनी गरियो, जहाँबाट सार्वजनिक शान्ति विरुद्धको मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंको चित्र अङ्कित पर्चा भेटिएको थियो ।
देश


प्रतिक्रिया