काठमाडौं— नेपालमा भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै रहे पनि नियन्त्रणमा भने चुकेको देखिन्छ । भ्रष्टाचार नियन्त्रणका लागि ठोस कदम चाल्न नसकेको भ्रष्टाचार नियन्त्रणमा विश्वव्यापी रुपमा काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टमा उल्लेख छ । भ्रष्टाचार नियन्त्रण, सुशासनजस्ता विषय हरेक दल र सरकारको प्राथमिकतामा परे पनि न्यूनीकरणमा नेपालको प्रयास भने अपर्याप्त देखिएको छ । यो वर्ष पनि नेपाल अति भ्रष्टाचार हुने देशको सूचीमा यथावत रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) द्वारा जारी भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालको अंक गत वर्ष जस्तै ३४ नै छ । ६ वटा अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा सन् २०२५ को अगस्ट महिनासम्मका सुशासनसम्बन्धी तथ्यांकलाई आधार बनाई नेपालको अंक निर्धारण गरिएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले उल्लेख गरेको छ । लामो समयदेखि नेपालले ३५ भन्दा कम अंक पाउँदै आएको छ । सूचकांकमा तल्लो तहमा रहेको यस अंकले नेपालमा पटकपटक सत्तामा पुगेकाहरुले भ्रष्टाचारविरुद्ध ठोस काम गर्न नसकेको देखाएको छ । सबैभन्दा धेरै भूमि र राजस्व प्रशासनमा विकृति बढ्दै गएको तथ्याङक छ । आयोगमा प्राप्त उजुरीमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा स्थानीय र प्रदेश तहसँग सम्बन्धित रहेको छ ।
देश


प्रतिक्रिया