अन्तर्राष्ट्रिय

युद्धमा होमिँदै अमेरिका–इरान, मध्यपूर्वमा तैनाथ भए युद्धपोत, जुनसुकै बेला दुई देशबीच भिडन्त (भिडियोसहित)


काठमाडौं— मंगलबार अमेरिकी सेनाले अरब सागरमा अमेरिकी विमानवाहक युद्धपोत ‘युएसएस अब्राहम लिंकन’ नजिक आक्रामक रूपमा आइरहेको इरानी ड्रोनलाई खसालेको छ । अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार, मंगलबार जहाजबाट उडेको एफ–३५सी स्टिल्थ लडाकु जेटले आत्मरक्षाका लागि ड्रोन खसालेको थियो । घटनाको समयमा जहाज इरानी तटबाट करिब ५०० माइल टाढा थियो भने सेनाले ड्रोनको उद्देश्य स्पष्ट नभएको बताएको छ । उक्त घटनामा कुनै पनि अमेरिकी सेनाका सदस्य घाइते नभएको र कुनै क्षति नभएको उल्लेख गरेको छ ।
सो घटना भएको केही घण्टापछि इरानी रिभोल्युसनरी गाड्र्सका दुई गनबोटले होर्मुज जलडमरूमध्यमा अमेरिकी झण्डा बोकेको तेल ट्यांकरलाई घेराबन्दी गर्दै कब्जा गर्ने धम्की दिएका थिए । अमेरिकी नौसैनिक विनाशक जहाजको सुरक्षापछि अवस्था शान्त भएको जनाइएको छ । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रमलाई प्रतिबन्धित गर्ने सम्झौतामा वार्ता नगरेमा सैन्य कारबाही गर्ने धम्की दिँदै आएका छन् ।