काठमाडौं— चीनमा भएको परेडमा सहभागिता जनाउनु नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सत्ताच्युत हुनुको कारण बनेको चर्चाका बीच वर्तमान अन्तरिम सरकारमाथि ‘चीन विरोधी’ भएको आक्षेप लागेको छ । विशेषतः ‘बारबार फाउण्डेसन’ मार्फत पश्चिमा र सँगै भारतको साथ यो सरकारलाई रहेको आरोप लाग्दा यसले चीन झस्कने अवस्था सिर्जना भएको हो । यसको पछिल्लो उदाहरण तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिन्पोछेको नेपाल भ्रमण बनेको छ । डोल्पो समाजको निमन्त्रणामा १० दिने धार्मिक प्रवचनका लागि गत बिहीबार नयाँ दिल्लीबाट काठमाडौं उत्रिएका रिन्पोछेलाई विमानस्थलमा गरिएको भव्य स्वागतले उत्तरी छिमेकी चीनलाई सशंकित तुल्याएको छ । बौद्धको तीनचुलेस्थित शेर्पिनी होटललाई आफ्नो मुकाम बनाएका रिन्पोछेको कार्यक्रममा सरकारी अधिकारीहरूको समेत मौन समर्थन वा उपस्थिति रहेको हुन सक्ने चिनियाँ पक्षको आशंका रहेको खबर बाहिरिएको थियो । यस विषयलाई नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को अभिव्यक्तिले थप चर्चामा ल्याइदिएको छ । उनले दलाई लामाका प्रतिनिधिलाई सरकारले संरक्षण दिएपछि चीनले चेतावनी नै दिएको दाबी गरेका छन् । सुशीला कार्की नेतृत्वको सरकार अवैध र थोपरिएको हो भन्ने कुरा भदौ २३ र २४ को परिघटनाका ‘स्टेकहोल्डर’ मध्येका दुर्गा प्रसाईंले नै भन्न थालेको बादलले उल्लेख गरे । साथै, भारत र चीनका राजनीतिक विश्लेषक तथा बुद्धिजीवीहरूले समेत भदौमा भएको आन्दोलनलाई ‘प्रतिक्रान्ति’ भनेर विश्लेषण गरिरहेको उनको भनाइ छ ।
देश


प्रतिक्रिया