दुर्घटना

बालेन निकट सिटौलाको निधन, आर्यघाटमा श्रद्धाञ्जलि दिन पुगे, रास्वपा समर्थक र चलचित्रकर्मी भावुक (भिडियोसहित)


काठमाडौं— उपचारका क्रममा निधन भएका रङ्ग पत्रकार दिनेश सिटौलाको अन्त्येष्टि गरिएको छ । आइतबार साँझ पशुपति आर्यघाटमा उनको अन्तिम बिदाइ गरिएको हो । बिदाइ गर्नुअघि चलचित्र विकास बोर्डमा उनको श्रद्धाञ्जलि सभा राखिएको थियो । त्यहाँ रङ्ग क्षेत्रका कलाकर्मीहरूले उनीप्रति श्रद्धाञ्जलि अर्पण गरे । अन्त्येष्टिपूर्व उनको पोष्टमार्टम समेत गरिएको थियो । परिवारका सदस्यहरूले सुरुमा पोष्टमार्टम गर्न आनाकानी गरे पनि प्रहरीको सुझावमा राजी भएका थिए ।
४५ वर्षीय सिटौला आसन्न निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) सँगै चुनावी यात्रामा सामेल थिए । बालेनकै टोलीसँग चुनावी अभियानकै क्रममा सुदूरपश्चिम पुगेका उनी माघ १६ गते अछाममा बेहोस भएका थिए । अछाम क्षेत्र नं २ बाट रास्वपाका उम्मेदवार बनेका भूपदेव शाहको निवास जाने क्रममा गाडीबाट ओर्लने क्रममा उनी एक्कासी ढलेका थिए, त्यसक्रममा उनको टाउको सडकमा बजारिएको थियो । बाहिरी चोट नदेखिएपछि उनलाई तत्काल जिल्ला अस्पताल लगिएको थियो । अस्पताल पुग्दासम्म नै उनको शरीर चिसो भइसकेको र श्वासप्रश्वास पनि नरहेको अस्पतालले जनाएको छ । त्यसपछि मुटु र श्वासप्रश्वास पुनः सञ्चालन गराउन गरिने प्राथमिक उपचार, जसलाई चिकित्सकीय भाषामा ‘कार्डियोपल्मोनरी रिससिटेसन’ (सीपीआर) भनिन्छ, करिब ४५ मिनेटसम्म गर्दा मुटुको चाल फर्किएको थियो । तर, जिल्लामा थप उपचार सम्भव नभएपछि कृत्रिम श्वास दिएर सेनाको हेलिकप्टरमार्फत सुर्खेत हुँदै काठमाडौँ विमानस्थल ल्याइएको थियो भने त्यहाँबाट एम्बुलेन्समा ग्राण्डी अस्पताल पु¥याइएको थियो ।