देश

रविबिना खल्लो चितवन, कांग्रेस र एमालेका उम्मेदवार घरघरमा, रवि बेडमा, पर्खाइमा समर्थक (भिडियोसहित)


काठमाााडौं— बालेन साहले राष्ट्रिय राजनीतिमा तरंग ल्याएका बेला उनलाई रास्वपामा ल्याउने सभापति रवि लामिछाने गुमनाम छन् । बालेनलाई देश दौडाउने पार्टीको रणनीतिक कार्यक्रम नै रहे पनि चितवन–२ का समर्थकले भने आफ्ना सभापति लामिछानेको खोजी गरिरहेका छन् । किनकी जेलबाट छुटिसकेपछि चितवन पुगेयता लामिछाने निर्वाचन क्षेत्र फर्किएका छैनन् । मनोनेयन दर्ताको दिन माघ ६ गते समेत पर्सा अदालतले धरौटी मागेपछि त्यहिँ अलमलिएका लामिछानेले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए । त्यही दिन काठमाडौं र रूपन्देही अदालतमा पनि उनको मुद्दामा सुनुवाइ चलिरहेको थियो । त्यस दिन चितवन जान नपाएपछि साँझ लामिछानेले फेसबुकमा लेखे– ‘देश निर्वाचनमय छ । तर बिडम्बना, यो उत्साहमा म पूर्ण उत्साहित भएर मिसिन सकिरहेको छैन । म माथी गरेको पाप र अत्याचारको हिसाव किताब नेपाली जनताले फागुन २१ मा घण्टी बजाएर दिनेछन् ।’ देशभर नै रास्वपाको पक्षमा उभार आइरहेका बेला चितवन–२ का उनका समर्थकले पनि लामिछानेको प्रतिक्षा गरिरहेका छन् । अन्य दलका उम्मेदवारहरुले भने रविकै आधार इलाकामा व्यापक प्रचार प्रसार गरिरहँदा उनी त्यहाँ छैनन् । जबकी गत निर्वाचनमा उनी नै सर्वाधिक मतका साथ संसद प्रवेश गरेका थिए । उनी नहुँदाको फाइदा भने विपक्षी उम्मेदवारले उठाइरहेका छन् । रविसँगै उम्मेदवारी दिएका एमालेका अस्मिन घिमिरे गित गाउँदै आफ्नो पक्षमा भोट मागिरहेका छन् भने कांग्रेसकी मिना खरेल लगायतका उम्मेदवारहरु पनि घरदैलो अभियानमा व्यस्त देखिएका छन् । तर रास्वपाको उमेदवार नै गुमनामजस्तो बनेपछि मतदाताले प्रश्न उठाइरहेका छन् ।