देश

देउवा–ओलीको गठबन्धन राष्ट्रिय सभामा सफल, गगनकै साथ, ओलीले झाँक्रीलाई जिताए, प्रचण्डका ७ हारे (भिडियोसहित)


काठमाडौं— राष्ट्रिय सभाको १७ सिटका लागि आइतबार भएको निर्वाचनमा गठबन्धनका सबै उम्मेदवार निर्वाचित हुँदा नेपाली कांग्रेस पहिलो दल बनेको छ । राष्ट्रिय सभाका ५९ सदस्यमध्ये आगामी फागुन २० गते कार्यकाल सकिन लागेका १९ सदस्यमध्ये १७ सिटका लागि सातै प्रदेशमा निर्वाचन भएको हो । रिक्त हुन लागेका पदमध्ये कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् भने बाँकी एक सिटमा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ । आइतबार भएको निर्वाचनमा कुल ९५.६८ प्रतिशत मतदान भएको छ । यो निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी जसपा नेपालले गठबन्धन गरेका थिए । जसअनुसार सबै प्रदेशबाट गठबन्धनका उम्मेदवार निर्वाचित हुँदा कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले एक सिट जितेका छन् । चुनावी तालमेलले कांग्रेसलाई ९ सिट फाइदा हुँदा पहिलो दलसमेत बनेको छ । अन्तिम समयमा गठबन्धनबाट बाहिरिएको नेपाली कम्युनिस्ट पार्टी नेकपाले भने आफ्नो विरासत जोगाउन सकेन । यो चुनावमा नेकपाले शून्य अवस्थामा चित्त बुझाउनु परेको छ ।