देश

गगन–बालेनले हिन्दू धर्म बोके, मन्दिरको दर्शन ः मोदी रिझाउने, भोट फकाउने रणनीति, लिङ्देनको मुद्दा खोसियो (भिडियोसहित)


काठमाडौं— राजनीतिक दलका नेताहरूले पछिल्ला केही दिनमा देखाएका धार्मिक गतिविधिले आगामी चुनावमा धर्म ‘एक्स फ्याक्टर’ हुने सङ्केत गरेको छ । जसरी नयाँ तथा पुराना नेताहरूले आफूलाई धार्मिक गतिविधिमा आबद्ध गराइरहेका छन्, त्यसले चुनावी अभियानमा धर्मलाई प्राथमिकतामा राख्ने रणनीति स्पष्ट पारेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बनेका बालेन्द्र शाह (बालेन) अहिले काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएर चुनाव केन्द्रित अभियानमा जुटेका छन् । जनक र सीताको पुण्यभूमि जनकपुरधामबाट अभियानको थालनी गरेका बालेन त्यसपूर्व जानकी मन्दिरको पूजापाठ र दर्शनमा सरिक भए । माघको चिसो मौसम, त्यसमाथि बिहानै कुर्ता–पाइजामाको पहिरनमा मन्दिर पुगेका उनलाई यसअघि यस्तो अवतारमा कहिल्यै देखिएको थिएन । जनकपुरको सभामा उनले पशुपतिनाथदेखि स्वयम्भूनाथ र अयोध्यासम्मका धार्मिक स्थलहरूबारे चर्चा गरे । त्यस्तै, घण्टौँ उकालो हिँडेर ताप्लेजुङको पाथीभरा देवीको दर्शन गरेको फोटो मात्र हालेनन्, त्यहाँ रहेका बहुसङ्ख्यक किरात धर्मावलम्बी मतदातालाई रिझाउने गरी ‘जय मुकुम्लुङ’ भन्दै पोस्ट समेत गरे । तेह्रथुमको म्याङलुङ बजारमा रहेको देवीको मन्दिर दर्शन गरेका उनले किरात धर्मसँगै सम्बन्धित तेह्रथुमको चोलुङ पार्क र धनकुटाको हिलेमा निर्मित ‘तोङ्बा’को समेत अवलोकन गरे । साढे तीन वर्ष काठमाडौँ महानगरको प्रमुख रहँदा बालेनले पशुपतिनाथ मन्दिरको दर्शन गरेको फोटो वा भिडियो कहिल्यै सार्वजनिक गरेनन् । तर, आफ्ना धेरै व्यक्तिगत विषय गोप्य राख्ने बालेन अहिले चुनावी अभियानका क्रममा मन्दिर र शक्तिपीठ पुगेका दृश्यहरू सचेत रूपमै सार्वजनिक गरिरहेका छन् । बालेन मात्र होइन, उनकै पार्टीबाट उम्मेदवार बनेका सुदन गुरुङ र महामन्त्री कविन्द्र बुर्लाकोटी पनि पूजाआजामै तल्लीन देखिएका छन् ।