देश

रोल्पामा ‘चिल’प्रचण्डलाई बागीको तनाव, मेटमणी र लेखनाथ नै जिताउन मुस्किल, गगनको तनाव हट्यो (भिडियोसहित)


काठमाडौं— गत निर्वाचनमा टिकट नपाएपछि हरिबोल गजुरेललाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन लगत्तै प्रमुख राजनीतिक सल्लाहकार बनाए । आज उनै गजुरेल टिकटकै लफडाले कारबाहीमा परेका छन् । २०७९ पुस १० मा विश्वासपात्र रहेका गजुरेल २०८२ माघ १० मा पार्टीबाटै निस्कासित भएका छन् । पार्टीको आधिकारिक निर्णयविपरीत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको र प्रस्ताव तथा समर्थक बसेको भन्दै नेकपाले गजुरेलसहित सात जना नेतालाई कारवाही गर्दै पार्टीबाट निष्काशन गरेको छ । सिन्धुली २ बाट बागी उम्मेदवार दिएका महेश्वर दाहालसँगै उनकै प्रस्तावक बनेका गजुरेल अनुशासनको कारवाहीमा परेका हुन् । तर, पार्टीको विधि, पद्धति प्रक्रियाको मिच्ने प्रचण्ड जस्ता व्यक्तिले आफूहरूमाथि कारवाही गर्नु नै हास्यास्पद रहेको गजुरेलको तर्क छ । विधि, पद्धतिको उल्लङ्घन गर्ने मुख्य व्यक्ति नै प्रचण्ड भएको हुँदा सबैभन्दा पहिले पार्टी संयोजकमाथि नै कारवाही हुनु पर्ने उनको टिप्पणी छ ।