देश

सुमना–रक्षा ‘पेन्डुलम’, आफ्नै एजेन्डामा किन चुनाव लडेनन्, माजिद र भावना पनि गुमनाम (भिडियोसहित)


काठमाडौं— जेनजी आन्दोलन छेड्ने, रूपान्तरणको नारा बोक्ने र आन्दोलनदेखि अन्तरिम सरकार निर्माणसम्म अग्रपंक्तिमा देखिएका पात्रहरू नै परिवर्तित अवस्थामा हुन लागेको निर्वाचनको मैदानमा देखिएका छैनन् । आन्दोलनमार्फत पुस्तान्तरण, सुशासन र वैकल्पिक राजनीतिका नारा बोकेर उदाएका चर्चित अनुहारहरू निर्वाचनसम्म आइपुग्दा भने पेन्डुलम बनेर डगमगाएका छन् । सडक, सभा र सत्ताको केन्द्र बालुवाटारसम्म देखिएका जेनजी अगुवाहरू नै प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न सकेनन् ।
जेनजी आन्दोलनपछि रास्वपाबाट अलग्गिएकी सुमना कहिले बालुवाटारमा देखिइन् भने कहिले कुलमान घिसिङको पार्टीको घोषणा सभामा । वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने अभिव्यक्ति दिँदै आएकी उनी एकता पछि चुनाव लड्ने सोचमा थिइन् । एकता त भयो, तर रास्वपासँगको कुलमानको एकता धेरै दिन टिक्न सकेन ।