काठमाडौं— नेपालको राजनीति फागुन २१ को चुनावी माहोलले तातिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र एउटा नयाँ र शक्तिशाली परकम्प सुरु भएको छ । पार्टीभित्र सभापति रवि लामिछानेको एकलौटी साम्राज्यमा अब एउटा यस्तो नाम हाबी भएको छ, जसले देशको भावी प्रधानमन्त्रीको कुर्सी मात्र होइन, पार्टीको ‘कमान्ड’ नै आफ्नो हातमा पार्ने सम्भावना बढेको छ । ती पात्र हुन्— बालेन्द्र शाह (बालेन) । काठमाडौँ महानगरको मेयर पद त्यागेर भावी प्रधानमन्त्रीको सपनासहित रास्वपा प्रवेश गरेका बालेनले अहिले पार्टीभित्र रविलाई समेत छायामा पारिदिएका छन् । हुन त बालेनको रास्वपा प्रवेश केवल एउटा साधारण राजनीतिक घटना मात्र थिएन । रणनीतिक रूपमा चतुर बालेनले सुरुमा कुलमान घिसिङलाई अघि सारेर बार्गेनिङ बढाए । रास्वपाले कुलमानलाई प्रधानमन्त्रीको ‘कार्ड’का रूपमा अघि सार्न खोज्दा समेत बालेनले त्यसलाई रोकेर अन्ततः त्यो पद आफ्नै लागि सुरक्षित गरे । आफूसँग ठूलो विज्ञ टोली भएको प्रभाव पारेर पार्टी प्रवेश गरेका बालेनले अहिले टिकट वितरणदेखि पदाधिकारी व्यवस्थापनसम्म आफ्नो दबदबा कायम गरिसकेका छन् । यसपटकको चुनावको केन्द्रविन्दु (इपिसेन्टर) चितवन होइन, झापा–५ बनेको छ । बालेनले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भिड्ने जुन साहस देखाएका छन्, त्यसले देशभरका युवाहरूको ध्यान तानेको छ । झापामा बालेनको क्रेज यति छ कि विगतमा रवि लामिछानेको पक्षमा लाग्ने ‘हावा’ अहिले पूरै ‘बालेनमय’ बनेको छ । अर्कातर्फ, मोरङ–३ मा आफूनिकट गणेश कार्कीलाई उम्मेदवार बनाएर चुनौती लिनु र जनकपुरमा देखिएको जनलहरले बालेन अब ‘स्टार क्याम्पेनर’ मात्र नभई रास्वपाको वास्तविक चालक बनिसकेको प्रस्ट पारेको छ ।
देश


प्रतिक्रिया