देश

आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ आज उम्मेदवारी दर्ता हुँदै


काठमाडौं— प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा एकै दिन आज मनोनयन दर्ता हुँदै छ । प्रमुख राजनीतिक दलहरूले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाइसकेका छन् भने केही विवादित क्षेत्रका उम्मेदवार आज बिहान टुंग्याउने तयारीमा छन् ।

एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अपवादबाहेक सबै क्षेत्रमा उम्मेदवार तय गरेका छन् । शीर्ष नेताहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन् । टिकट पाएका अधिकांश उम्मेदवारहरू पनि आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगिसकेका छन् । एमाले अध्यक्ष केपी ओली झापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व र नेकपाका सहसंयोजक माधवकुमार नेपाल रौतहट पुगेका छन् ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह मनोनयन दर्ता गर्न सोमबार मध्यरात झापा पुगेका छन् । रास्वपा सभापति रवि लामिछाने चितवन गएका छन् । मनोनयन दर्ताका लागि सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका छन् । निर्वाचन कार्यालयहरूले दल र उम्मेदवारहरूलाई मनोनयन दर्ताको समयसमेत तोकिसकेका छन् ।

निर्वाचन आयोगका अनुसार उम्मेदवारले मनोनयन दर्ता गर्दा १० प्रकारका कागजात अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।