अन्तर्राष्ट्रिय

बंगलादेशको उथलपुथल, बाबुले देश बनाए, छोरी हसिनालाई मृ८त्यु८दण्ड, मोदीमाथि बुझाउन दबाब (भिडियोसहित)


काठमाडौं— बंगलादेशको राजधानी ढाकास्थित विशेष न्यायाधिकरणका लागि सोमबारको दिन राजनीतिक इतिहासकै एक विवादास्पद तर निर्णायक मोड बन्यो । अदालतले १५ वर्षसम्म बंगलादेशमा स्थिरता र विकासको नेतृत्व गरेकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ । गत वर्ष जुलाई–अगस्टमा देशभर फैलिएको विद्यार्थी विद्रोह, जुन बंगलादेशको राजनीतिक इतिहासकै सबैभन्दा ठूलोमध्ये एक बन्यो, त्यसलाई नियन्त्रण गर्ने क्रममा भएको हिंसात्मक दमन नै यो फैसलाको आधार हो । उक्त आन्दोलन नियन्त्रण गर्न खोज्दा व्यापक हिंसा भड्किएको थियो, जसमा धेरैले ज्यान गुमाए भने हजारौँ घाइते भए । विशेष न्यायाधिकरणले उक्त दमनको निर्देशन सिधै हसिना र उनको सरकारबाट आएको ठहर गरेको छ । हाल भारतमा निर्वासन जीवन बिताइरहेकी हसिना सत्ताबाट हटेपछि रातारात सीमा पार गरेर भारत पुगेकी थिइन् । त्यसैले, उनको अनुपस्थितिमा नै मुद्दाको सम्पूर्ण कारबाही चलाइयो । न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले वाचन गरेको ४५३ पृष्ठ लामो फैसलालाई बंगलादेश टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो, जसले यो मुद्दाको संवेदनशीलता र जनचासोलाई स्पष्ट पारेको छ । अभियोजन पक्षले गत वर्षको आन्दोलनमा १ हजार ४ सय जनाको हत्या भएको र करिब २५ हजार जना घाइते भएको दाबी गरेको थियो । सरकार विरोधी आन्दोलनका क्रममा मानवता विरुद्धको अपराध गरेको आरोपमा हसिनाविरुद्ध मुद्दा चलाइएको थियो । न्यायाधिकरणले हसिनासहित अन्य दुई अभियुक्तलाई पनि दोषी ठहर गरेको छ ।

https://youtu.be/IrpqEinvA6Y?si=jrSlYZ_ljaKveZVU