देश

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित


काठमाडौं— प्रमुख सत्तारुढ दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । दोस्रो विधान महाधिवेशनको राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गर्न आगामी शुक्रबारका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आवश्यक तयारी नपुगेकाले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए । केन्द्रीय समिति बैठक विधान महाधिवेशनको अघिल्लो दिन बस्ने सम्भावना रहेको नेताहरु बताउँछन् ।

भदौ १४ गते प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणमा जाने कार्यक्रम छ।एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको सनराइज सभा हलमा हुँदैछ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत राख्ने तयारी गरेपछि बैठक नै सारिएको दाबी गरेको छ । एमालेको गत साउनमा बसेको केन्द्रीय कमिटीको नवौं बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक लगाएको थियो। उक्त निर्णयसँग एमालेले भण्डारीको सदस्यता निष्क्रिय तुल्याएको छ । तर भण्डारीले राजनीतिक गतिविधिहरू गर्दै आएकी छिन् ।