समाचार

आज हरितालिका तीज, देशभरका शिवालयमा श्रद्धालुको घुइँचो


काठमाडौं— आज भाद्र शुक्ल तृतीया अर्थात् तीज, सनातन धर्मावलम्बी महिलाले उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन । भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ।

सत्ययुगमा हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ। त्यसैले विधिपूर्वक व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वास गरिन्छ।विवाहिताले पति र छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताले असल पतिको कामनामा व्रत बस्ने परम्परा छ।

काठमाडौंस्थित पशुपतिनाथ, गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर, दोलखाको भीमेश्वरलगायत देशभरका शिवालयमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ । पशुपतिमा दर्शनार्थीहरुका लागि मूल मन्दिरका चार ढोका आज बिहान ३ बजेदेखि खुला गरिएको छ ।

दर्शनार्थीहरु बिहानैदेखि लामबद्ध भएर पशुपति मन्दिरमा पूजा गरी नाचगान गरिरहेका छन् । एकदेखि डेढ घण्टाभित्र दर्शन गरेर फर्किसक्नेगरी व्यवस्था मिलाइएको पशुपति क्षेत्रविकास कोषले जनाएको छ ।