समाचार

संघीय निजामती सेवा विधेयकमा गम्भीर त्रुटि, सभापति खतिवडा नैतिक रूपमा जिम्मेवार


काठमाडौं— संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा भएको त्रुटिसम्बन्धी छानबिन गर्न गठित समितिले विधेयक निर्माण गर्दा गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको छ । कांग्रेस सांसद जीवन परियार नेतृत्वको ७ सदस्यीय छानबिन समितिले सर्वसम्मत रूपमा प्रतिवेदन तयार पारेको हो ।

समितिले कुलिङ पिरियडसम्बन्धी त्रुटिका लागि सभापति रामहरि खतिवडालाई राजनीतिक र नैतिक रूपमा जिम्मेवार देखाएको छ।

त्यस्तै विधेयकको अन्तिम प्रतिवेदनमा हस्ताक्षर गरेका सभापति खतिवडा र समिति सचिव सुरजकुमार दुरा उत्तिकै जिम्मेवार हुने ठहर समितिले गरेको छ।समितिले विधेयकमा भएको त्रुटिका लागि समिति सचिव दुरासहित, मुख्य सचिव र अन्य सचिवहरूलाई कानुन बमोजिम गर्न सुझाव दिएको छ।

संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित हुँदा कुलिङ पिरियड निष्प्रभावी बनाइएको थियो । सोही विषयमा छानबिन गर्न संसदीय समिति गठन गरिएको थियो ।