गत फागुन ७ गते प्रजातन्त्र दिवसका दिन पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक गरेको भिडियो सन्देश र अभिव्यक्तिले राष्ट्रिय राजनीति तरंगित छ । सडकमा समर्थकहरुको भीड अनि पूर्वराजाले आफ्ना समर्थकहरुमाथि देखाएको सदाशयताको बहस उत्कर्षमा छ । पूर्वराजा र राजावादीहरुको सक्रियतालाई भूराजनीतिक प्रभावको रुपमा विश्लेषण भइरहँदा विदेशी सञ्चारमाध्यमहरुले यो विषयलाई थप मलजल गरिरहेका छन् ।
गत फागुन ७ गते प्रजातन्त्र दिवसका दिन पूर्वराजा ज्ञानेन्द्र शाहले एउटा भिडियो सन्देश सार्वजनिक गरे । शुभकामना दिने बहानामा पूर्वराजाले वर्तमान व्यवस्था र राजनीतिक दलहरुप्रति गुनासो र आक्रोश ओकले । पूर्वराजाको यहि सन्देशलाई ग्रिन सिग्नल मान्दै राजतन्त्र र हिन्दुराज्यकै नारा भजाएर आफ्नो राजनीतिक हैसियत जोगाइ रहेका दल र समर्थकहरु एकाएक एकढिक्का मात्र भएनन् दलबलसहित शक्ति प्रर्दशन गर्न सडकमा उत्रिए । हातमा नेपालको राष्ट्रिय झण्डा बोकेर नाराबाजी गर्दै फागुन २१ गते बबरमहलदेखि नारायणहिटीसम्म बृहत मोटरसाइकल ¥याली गर्न भ्याए ।
त्यहि भीड आइतबार हातमा नेपालको राष्ट्रिय झण्डा र बाजागाजा बोकेर पूर्वराजाको स्वागतमा सडकमा उत्रियो । पूर्वराजाको स्वागतमा सडकमा समर्थकहरुको भीड र पूर्वराजाले हात हल्लाएर आफ्ना समर्थकहरुप्रति देखाएको सदाशयताले राष्ट्रिय राजनीति तरंगित छ भने यति बेला विश्वको ध्यान नेपालमा अडेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले राजावादीहरुको आन्दोलनलाई थप उछालेका कारण यो विषय छिमेकी मुलुक भारत, चीनमा मात्र नभई अन्य तेस्रो मुलुकहरुमासमेत नेपाल र यहाँको राजनीतिक माहोल बहसको विषय बनेको छ ।
पूर्वराजा र राजावादीहरुको शक्ति प्रर्दशनलाई भारतीय मेनस्ट्रिम सञ्चारमाध्यमहरुले हेडलाइन बनाएका छन् भने चर्चामा रहेका युट्ब च्यानलहरुले अनेक ढंगले विश्लेषण गरेका छन् । राजतन्त्रको पक्षमा समर्थक बढेको । सरकारमाथि दवाव बढेको । नेपालमा राजतन्त्र फर्किने सम्भावना कति ? लगायतका विषयमा भारतीय सञ्चारमाध्यमलाई अहिले जोड घटाउमा भ्याइ नभ्याई छ ।
नेपालको राजनीतिक इतिहास, व्यवस्था परिवर्तन र पूर्वराजालाई लिएर समाचार सम्प्रेषण मात्र गरेका छैनन् कि राजावादीहरुको शक्ति प्रर्दशनलाई बंगलादेशको सत्ता पलटसँग समेत जोडेर विश्लेषण गर्न भ्याएका छन् । युवाहरुको विरोध प्रदर्शनले बंगलादेशमा सत्ता पल्टेको उदाहरण दिँदै नेपालमा पनि युवाहरु सडकमा उत्रिएकाले राजसंस्था नफर्किला भन्न नसकिने खालका टिप्पणी गरेका छन् ।
भारतीय सञ्चारमाध्यमले मात्र होइन अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत राजतन्त्र फर्काउन चाहेको ढंगले समाचार सम्प्रेषण गरेका छन् । अन्तर्राष्ट्रिय चासोमा परेको यो मुद्दालाई भूराजनीति दवावका रुपमा समेत विश्लेषण गरिएको छ । पूर्वराजाको रापताप र सल्बलाएका राजावादीहरुको शक्ति प्रर्दशनलाई उनीहरुले नेपालमा तत्काल राजसंस्था पुनःस्थापना भइहाल्ने जस्तो गरी बढाई चढाई समाचार सम्प्रेण गरेका छन् । सत्ता फेरबदल हुँदा होस् या सत्ता समीकरण फेरबदलमा समेत बाह्य हस्तक्षेपको सिकार हुँदै आएको नेपालको राजनीति पछिल्लो समय पूर्वराजा र राजावादीहरुलाई छिमेकी मुलुकहरुले उक्साइरहेको तर्क भइरहेका बेला विदेशी सञ्चारमाध्यमहरुले दिएको प्राथमिकताले थप शंका उब्जाइरहेको छ ।
सडकमा पूर्वराजा र राजावादीहरुको शक्ति प्रदर्शनले गणतन्त्रवादीहरु रक्षात्मक बन्न थालेका छन् । अझ यो विषयलाई विदेशी सञ्चारमाध्यमहरुले उछाली दिएपछि उनीहरु थप सशंकित बनेका छन् । तर पूर्वराजाको यो तडकभडक र राजावादीहरुको रोइलो पहिलो भने होइन । यसअघि पनि समय समयमा यस्ता नाटक मञ्चन हुँदै आएका छन् । यद्यपि यस्ता शक्ति प्रदर्शनहरुबाट दलहरुले बेलैमा सबक सिक्न भने जरुरी रहेको कतिपयको तर्क छ ।
राजतन्त्र फालेको करिब १६ वर्षपछि राजाकै पक्षमा देखिएको आकर्षण र जनसहभागिता किन र कसका कारण देखियो भन्ने विषय बहसमै छ । तथापि, कसको इसारामा लोकतान्त्रिक गणतन्त्र र गणतन्त्र पक्षधरहरुको विरोध हुन थाल्यो भन्दा पनि किन यो बाध्यात्मक अवस्थामा जनता पुगे ? यसतर्फ राजनीतिक दलहरुले समीक्षा गर्न जरुरी भइसकेको छ ।


प्रतिक्रिया