काठमाडौं—गत साता रिहा गर्ने भनिएका ६ सयभन्दा बढी प्यालेस्टिनी कैदी रिहा गर्ने विषयमा इजरायल सहमत भएसँगै गाजा युद्धविराम भंग हुने खतरा तत्कालका लागि टरेको छ । हमासले गत शनिबार ६ जना बन्धक रिहा गरेपछि सोही दिन नै इजरायलले ६ सयभन्दा बढी प्यालेस्टिनी कैदी रिहा गर्नुपर्ने थियो । तर, इजरायलले बन्धक रिहाइ अपमानजनक भएको आरोप लगाउनुका साथै थप बन्धक रिहाइ सुनिश्चित नहुँदासम्म प्यालेस्टिनी कैदीको रिहाइ अनिश्चितकालका लागि स्थगन गरेको जनाएको थियो ।
तर, हमास र मध्यस्थकर्ता देशहरूबीच कायरोमा भएको वार्तामा बन्धक साटासाट सम्बन्धमा सहमति जुटेको हो । उक्र सहमतिसँगै प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलले समानान्तर रूपमा बन्धक र कैदी रिहा गर्दैछन् ।
गत जनवरी १९ देखि सुरू भएको गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौताको पहिलो चरणमा हमासले ३३ बन्धक रिहा गर्ने र प्रत्युत्तरमा इजरायलले पनि आफ्नो जेलमा रहेका १९ सयभन्दा बढी प्यालेस्टिनी कैदी रिहा गर्ने सम्झौता भएको थियो । सोही सम्झौता अन्तर्गत हमासले अहिलेसम्म २० गैरसैनिक र पाँच सैनिक गरी २५ जना जीवित इजरायली बन्धकका साथै ४ इजरायली बन्धकको शव हस्तान्तरण गरिसकेको छ ।


प्रतिक्रिया