काठमाडौं— देशभर वर्षा गराउने पश्चिमी वायुको अर्को प्रणाली नेपाल भित्रिँदै छ । यो प्रणालीले मध्यमदेखि भारी वर्षा गराउने र जाडो महसुस हुने पूर्वानुमान गरिएको छ ।
पश्चिमी वायुले उत्तरतिरको चिसो हावा नेपाल ल्याउने र यसै हप्ता वर्षासँगै जाडो महसुस हुने मौसमविदहरूले जनाएका छन् । उनीहरूका अनुसार आज रातिदेखि देशभर राम्रै वर्षा हुने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको छ ।
त्यसैले बादल लाग्ने र पानी पर्ने भइरहेको छ । चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


प्रतिक्रिया