अन्तराष्ट्रिय

USA- IRAN WAR : चीन गुहार्न पुगे इरानी मन्त्री, हर्मुजमा ट्रम्पको अस्त्र फेल, सम्झौताको दबाब

योहो संवाददाता

मध्यपूर्वी क्षेत्रमा जारी तनाव र अमेरिका–इरान युद्धका बीच विश्व कूटनीतिमा नयाँ हलचल पैदा भएको छ । चीनको राजधानी बेइजिङमा चिनियाँ र इरानी विदेशमन्त्रीबीच महत्त्वपूर्ण वार्ता भएको छ भने अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौताको सम्भावनालाई मध्यनजर गर्दै आफ्नै सैन्य अभियान ‘प्रोजेक्ट फ्रिडम’ स्थगन गर्ने घोषणा गरेका छन् । उता बेइजिङ वार्ताले हर्मुज जलडमरू मध्य र युद्धविराममा जोड दिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र इरानी विदेशमन्त्री अब्बास अराक्चीबीच बुधबार बेइजिङमा भेटवार्ता भएको हो । इरानमा युद्ध सुरु भएयता अराक्चीको यो पहिलो चीन भ्रमण हो । उक्त वार्तामा वाङ यीले ‘हर्मुज जलडमरू मध्य’ लाई जतिसक्दो चाँडो पुनः सञ्चालनमा ल्याउन आह्वान गरेका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार वाङ यीले युद्धविरामलाई ‘अति जरुरी प्राथमिकता’ को रूपमा व्याख्या गर्दै तनाव कम गर्न चीन सहयोग गर्न तयार रहेको बताएका छन् । ‘चीन विश्वास गर्दछ कि व्यापक युद्धविराम हासिल गर्नु तत्कालको आवश्यकता हो, जबकि शत्रुता पुनः सुरु हुनु अझ बढी अनिच्छित हुनेछ,’ वाङले भनेका छन् । विश्वको ठूलो हिस्सा तेल आपूर्ति हुने हर्मुज जलडमरूमा अवरोध हुँदा अन्तर्राष्ट्रिय समुदाय चिन्तित रहेको भन्दै चीनले यसलाई सामान्य र सुरक्षित बनाउन सम्बन्धित पक्षहरूलाई आग्रह गरेको छ ।