देश

लिपुलेक विवाद फेरि उत्कर्षमा, भारतको कडा जवाफ, प्रधानमन्त्री बालेनको भारत भ्रमण अनिश्चित (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— दुई छिमेकी देश चीन र भारतले फेरि एकपटक नेपालप्रति हेपाहा र मिचाहा प्रवृत्ति देखाएका छन् । आफ्नो रणनीतिक स्वार्थका लागि दुई ठूला शक्ति राष्ट्रहरू मिलेपछि छिमेकी देशको सरोकारलाई पूरै बेवास्ता गर्दै नेपाली भूमिमा आफ्नै हैकम जमाउने पुरानै शैली दोहोर्याइएको हो । नेपाललाई कुनै जानकारी नै नदिई दार्चुला जिल्लामा पर्ने लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्राका लागि चीनसँगको समन्वयमा औपचारिक घोषणा गर्दै भारतले आवेदन खुला गरेपछि फेरि एकपटक निर्विवाद नेपाली भूमि लिपुलेकमा जबरजस्ती विवाद खडा गरिएको छ । गत बिहीबार नै भारतले लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्राका लागि आवेदन खुला गरेको भए पनि नेपाल सरकारको तर्फबाट बल्ल सोमबार मात्रै आधिकारिक धारणा आएको छ । लिपुलेक लगायतका सीमा विवादका विषयमा सरकारको अडान स्पष्ट रहेको र ती क्षेत्रहरू नेपाली भूमि भएको कुरामा सरकार पूर्ण प्रतिबद्ध रहेको तथा दुई सरकारबीचको सहकार्य र कूटनीतिक संवादमार्फत निकास निकाल्ने जनाइएको छ । यसअघि आइतबार परराष्ट्र मन्त्रालयले चीन र भारतलाई ६ बुँदे कूटनीतिक नोट पठाएको भन्दै पत्र सार्वजनिक गरेको दाबी सरकारले गरेको छ ।