देश

रास्वपाको सांसद बेपत्ता, झुल्किन आशिका, खगेन्द्रको बोली फुटेन, प्रश्नपछि बोले केपी, सुत्केरी भेट्न रञ्जु (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— आफ्नै सरकारले चालेका कदमको विरोध गर्न नसक्दा मौन रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू जनस्तरबाट दबाब बढेपछि मात्र बाहिर निस्कन थालेका छन् । सामाजिक सञ्जालकै बलमा संसद्को यात्रा तय गरेका उनीहरूले त्यहीँबाट आएको तीव्र आलोचना झेल्न नसकेपछि बाध्य भएर पीडितको पक्षमा बोल्न थालेका हुन् । काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रञ्जु दर्शनाले सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेर गर्भवती, सुत्केरी र साना बालबालिका भएका आमाहरूसँग संवाद गरिन् । त्यस्तै, हिजोका दिनमा जनताका हरेक दुःखमा बोल्ने आशिका तामाङ सुकुम्बासी बस्ती उजाडिँदा किन मौन छिन् भन्दै प्रश्न उठेपछि उनी पनि सक्रिय देखिएकी छन् । विगतमा ‘माछा मर्दा समेत रुने’ आशिका अहिले मान्छे विस्थापित हुँदा र बालबालिका रुँदा किन चुप भन्ने सामाजिक सञ्जालको दबाब सहन नसकेर होल्डिङ सेन्टर पुगिन् । त्यहाँ पुगेर उनले बालबालिकालाई छिटो विद्यालय जाने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।