समाचार

पोर्चुगलमा नेपाली दूतावास अक्सिजन र पानीजत्तिकै आवश्यक, हटाउनु ऐतिहासिक भूल हुनेछ : अभियन्ता नेम्कुल

योहो संवाददाता

पोर्चुगल—पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि सक्रिय अभियन्ता गंगाबहादुर नेम्कुलले त्यहाँस्थित नेपाली नियोगको उपस्थिति नेपाली समुदायका लागि अक्सिजन र पानी जत्तिकै अनिवार्य भएको बताएका छन्। दूतावास स्थापनाको एक वर्ष पुगेको अवसरमा उनले यस्तो महत्वपूर्ण र प्रभावकारी संरचनालाई कमजोर पार्ने वा हटाउने कुनै पनि निर्णय नेपाल सरकारका लागि ऐतिहासिक भूलु सावित हुने चेतावनी दिएका छन्।

नेम्कुलको यो भनाइलाई दूतावासले सार्वजनिक गरेको पहिलो वार्षिक प्रगति प्रतिवेदनले समेत बलियो आधार प्रदान गरेको छ। प्रतिवेदनअनुसार, स्थापनाको एक वर्षमै दूतावासले ३५ हजार ७ सय ८९ भन्दा बढी सेवा प्रवाह गर्दै ५० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ। राजधानी लिस्बनस्थित दूतावासले सार्वजनिक गरेको तथ्याङ्कअनुसार एक वर्षको अवधिमा २९ लाख ९० हजार युरो (करिब ५० करोड नेपाली रुपैयाँ) राजस्व संकलन भएको छ। राजदूत प्रकाशमणि पौडेलले दूतावासका सेवाहरूले पोर्चुगलमा रहेका ६० हजारभन्दा बढी नेपालीहरूलाई प्रत्यक्ष रूपमा सहजता प्रदान गरेको जानकारी दिए।

दूतावासले प्रवाह गरेका प्रमुख सेवाहरू यस प्रकार छन् ः
प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) २३ हजार ७ सय ८९ वटा
ई–पासपोर्ट सेवा – ५ हजार ७ सय ९६ जना
कागजात प्रमाणीकरण (शैक्षिक, पारिवारिक आदि)–५ हजार ६ सय ५५ वटा
अधिकृत वारेसनामा– ४१४ वटा
यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट)– १०९ वटा
शव फिर्ती समन्वय– ६ वटा

सन् २०२३ अप्रिल १६ देखि पूर्ण रूपमा सेवा सुरु गरेको यस दूतावासले कन्सुलर सेवाका अतिरिक्त आर्थिक कूटनीति, पोर्चुगिज सरकारी निकायसँगको सहकार्य र द्विपक्षीय सम्बन्ध विस्तारमा पनि उल्लेख्य भूमिका निर्वाह गरिरहेको छ।

अभियन्ता नेम्कुलले दूतावासले छोटो अवधिमै देखाएको यो उच्च प्रभावकारिताले नै यसको आवश्यकता र अपरिहार्यता पुष्टि गरेको उल्लेख गरेका छन्। “६० हजारभन्दा बढी नेपालीको अभिभावक बनेको यो संस्थालाई अझ बलियो बनाउनुको विकल्प छैन” उनले भने।

पोर्चुगलस्थित नेपाली दूतावास सेवा प्रवाह, राजस्व संकलन र सामुदायिक समन्वयमा आफूलाई एक सफल र सन्तुलित कूटनीतिक नियोगका रूपमा स्थापित गर्न सफल देखिएको छ।