अन्तर्राष्ट्रिय

USA-IRAN WAR : युद्धबाट पछि हट्दै ट्रम्प, हर्मुज कब्जा अमेरिकालाई ब्याक फायर ||


काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको निकै नजिक पुगेको दाबी गरेका छन् । वासिङ्टन डीसीमा इजरायल र लेबनानका राजदूतहरूबीच दुर्लभ प्रत्यक्ष वार्ता भइरहँदा ट्रम्पले यस्तो सकारात्मक संकेत दिएका हुन् । यद्यपि, जमिनमा भने इजरायली आक्रमण र अमेरिकी सैन्य दबाब अझै कम भएको छैन ।

राष्ट्रपति ट्रम्पले आगामी केही दिनभित्रै पाकिस्तानमा इरानसँग दोस्रो चरणको वार्ता हुनसक्ने सम्भावना व्यक्त गरेका छन् । तर, वार्ताको मुख्य बाधक इरानको युरेनियम संवद्र्धनमा लगाइने रोकको अवधि बनेको छ । अमेरिकाले २० वर्षको प्रतिबन्ध चाहेको छ भने इरानले ५ वर्षको प्रस्ताव राखेको छ । यसबारे अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका महानिर्देशक राफेल ग्रोसीले यस्तो समयसीमा तय गर्नु प्राविधिक नभई विशुद्ध राजनीतिक निर्णय भएको बताएका छन् ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ताप्रति आशा व्यक्त गरिरहेका बेला इरानी विश्लेषकहरूले भने अमेरिकी दबाबलाई झेल्न सकेका कारण इरानको अडान वार्ताको टेबुलमा अझ बलियो भएको टिप्पणी गरेका छन् । अर्कोतर्फ, अमेरिकाले इरानमाथि सैन्य र आर्थिक दबाब कायमै राखेको छ । अमेरिकी सेन्ट्रल कमाण्डका एड्मिरल ब्राड कुपरले इरानी बन्दरगाहहरूमा पूर्ण रूपमा नौसैनिक नाकाबन्दी लागू गरिएको पुष्टि गरेका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले हर्मुज जलसन्धिमा इरानी तेल बोक्ने चिनियाँ ट्याङ्करहरूलाई समेत रोक्ने चेतावनी दिएका छन् । यही समयमा अमेरिकी सिनेटमा राष्ट्रपति ट्रम्पको युद्ध शक्तिलाई सीमित गर्ने प्रयास स्वरूप डेमोक्र्याटहरूको नेतृत्वमा मतदान हुने तयारी छ ।