समाचार

बालेनबारे समाचार लेख्दा पत्रकारलाई ज्यान मार्ने धम्की

योहो संवाददाता

काठमाडौं–नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आफ्ना सदस्य पत्रकार पर्वतराज घिमिरेमाथि आएको ज्यान मार्ने धम्कीप्रति घोर भत्र्सना व्यक्त गरेको छ। मेयर बालेन्द्र शाहसम्बन्धी समाचार प्रसारण भएपछि मेयर शाहका भिनाजु बताइने सुवास शाहले पत्रकार घिमिरेलाई फोनमार्फत अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएका हुन्।

घटनाको सार्वजनिक भएसँगै शाखाले यसलाई प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमणको रूपमा लिएको छ। शाखाका सचिव रमेश कुमार बोहोराले बुधबार प्रकाशित विज्ञप्तिमा भनेका छन्, ‘यो कुनै व्यक्तिगत रिसइवी होइन, स्वतन्त्र पत्रकारिता र अभिव्यक्तिको अधिकारमाथिको नियोजित हमला हो जसले लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको आधारभूत मर्मलाई चुनौती दिएको छ।’

विज्ञप्तिमा भनिएको छ कि समाचारप्रति असन्तुष्टि भएमा प्रेस काउन्सिल नेपालमा उजुरी दिने कानुनी व्यवस्था हुँदाहुँदै धम्कीपूर्ण र आपराधिक व्यवहार गर्नु प्रेस आचारसंहिता र प्रचलित कानुनको ठाडो उल्लङ्घन हो।’

शाखाले सुरक्षा निकायलाई घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कानुनअनुसार कडा कारबाही गर्न र पत्रकारमाथि हुने धम्की तथा आक्रमणप्रति शून्य सहनशीलता अपनाउन सरकारसँग जोडदार माग गरेको छ।

शाखाका सचिव रमेश कुमार बोहोराले थप भने ‘स्वतन्त्र प्रेस र निर्भीक पत्रकारिता लोकतन्त्रका मेरुदण्ड हुन्। पत्रकारको सुरक्षा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व हो।’