खेलकुद

सधैँ चुक्दै नेपाली महिला टोली, साम्बाको ३ ह्याट्रिक बेकार, खेलाडी परिवर्तन कि रणनीति कमजोर ? (भिडियो)


काठमाडौं- फुटबल होस् या अन्य कुनै खेल, फाइनलसम्मको यात्रा सजिलो हुँदैन । तर, नेपाली महिला टोलीले पटक–पटक त्यो यात्रा तय गर्दै आएको छ । फाइनलसम्म पटक–पटक पुगे पनि अन्तिम लक्ष्य हात पार्ने सपना भने सधैँ अधुरो रहँदै आएको छ । यस पटक पनि नेपाली महिला फुटबल टोलीले समर्थकलाई निराश बनाएको छ । एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गतको निर्णायक खेलमा उज्बेकिस्तानसँग टाइब्रेकरमा ४–२ ले पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो । समूह ‘एफ’ अन्तर्गतको अन्तिम खेलमा निर्धारित ९० मिनेटको खेल ३–३ को रोमाञ्चक बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो । नेपालका लागि टाइब्रेकरमा गीता राना र सविता रानामगरले गोल गरे, तर कप्तान सावित्रा भण्डारी (साम्बा) र गोलकिपर अञ्जना रानामगरको प्रहार असफल भएपछि नेपाल पराजित हुन पुग्यो ।