काठमाडौं—नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधव नेपालले पतञ्जली जग्गा प्रकरणको बारेमा विस्तृत रूपमा धारणा राखेका छन् । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार शुक्रबार बसेको छैटौं सचिवालय बैठकले पार्टी अध्यक्षमाथि राजनीतिक प्रतिशोधका साथ भ्रष्टाचारको मुद्दा लगाएर फसाउन खोजेको निष्कर्ष बैठकले निकालेको छ ।
ज्वालाले पार्टी अध्यक्षकै रूपमा नेपालले बैठकको अध्यक्षता गरिरहेको र संसदीय दलको नेताबारे संसदीय दलकै बैठकबाट निर्णय गरिने बताए । बैठकमा अध्यक्ष नेपालले सरकारले प्रधानमन्त्री, मन्त्री र शक्तिशाली नेताहरूको क्षेत्रमा मात्र बजेट केन्द्रित गरेर प्राथमिकतामा पर्नुपर्ने क्षेत्रलाई बजेटविहीन बनाएको कुरा राखेको उनले जानकारी दिए ।
बैठकका वक्ताहरूले समकालीन नेताहरूमा सबैभन्दा स्वच्छ, सादगी र किफायती जीवनशैली बाँचिरहेका नेपालमाथि नै भ्रष्टाचारको मुद्दा लगाउनु राजनीतिक प्रतिशोधको प्रतिफल भएको निष्कर्ष निकालेको प्रवक्ता ज्वालाले जानकारी दिए ।
बैठकले उखु किसानलाई अनुदान दिन बन्द गर्ने सरकारी निर्णयको विरोध गर्दै उक्त निर्णय सच्याउन माग गरेको छ । बैठकले रोपाईंको बेला किसानलाई मल उपलब्ध गराउन पनि माग गरेको प्रवक्ता ज्वालाले जानकारी दिए । बैठकमा आज केही नेताहरूले धारणा राखेको र बाँकी नेताहरूले शनिबार बिहान बोल्ने उनले जानकारी दिए ।
प्रतिक्रिया