Breaking

डोल्पामा गएको पहिरोले ५५ घरमा क्षति


काठमाडौं—डोल्पामा गएको पहिरोले ५५ घरमा क्षति पु¥याएको छ । बिहीबार राति करिब साढे १२ बजेको समयमा काइके गाउँपालिका–४ रिवा गाउँमा पहिरो खसेको हो ।

गाउँभन्दा करिब ५०० मिटर माथिबाट लेदोसहित खसेको पहिरोले तीन वटा घर पूर्ण रूपमा, १२ वटा घर आंशिक रूपमा र ४० वटा घरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी टोपेन्द्र बुढामगरले अनलाइनखबरलाई जानकारी दिए । पहिरोबाट करिब १ करोड ७३ लाख मूल्य बराबरको धनमाल क्षति भएको उनले बताए ।

पहिरोले काइके गाउँपालिका–४ का २१ वर्षीय मनराज बिक, ३२ वर्षीय सुरेन्द्र बिक र ५० वर्षीय धनलाल बिकको घर पूर्ण रूपमा क्षति पुगेको उनले बताए । प्रारम्भिक अनुसन्धान अनुसार तीनैजनाको करिब ३६ लाख मूल्य बराबरको क्षति पुगेको उनले बताए ।

आंशिक रूपमा १२ वटा घरमा क्षति पुग्दा ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ भने सामान्य रूपमा ४० वटा घरमा क्षति पुग्दा करिब ९८ लाख रुपैयाँ बराबरको क्षति पुगेको बुढामगरले बताए । यसैगरी पहिरोले एक विद्यालयमा समेत क्षति पु¥याएको छ । पहिरोले रिवागाउँस्थित पुथा आधारभूत विद्यालय भवन पूर्ण रूपमा क्षति पुगेको उनले बताए ।

उनका अनुसार पहिरोले विद्यालयमा रहेका कम्प्युटर, फोटोकपी मेसिन, सीसीटीभी लगायतमा पनि क्षति पुगेको छ । पहिरोबाट विद्यालयमा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए । बुढामगरका अनुसार घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारका लागि खटिएको छ ।