अपराध

३१९ किलो चरेससहित पक्राउ परेका युवा सार्वजनिक


काठमाडौं—प्रहरीले ३१९ किलो चरेससहित पक्राउ परेका युवालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ परेका युवा मकवानपुरको थाहा नगरपालिका–१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई बिहीबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार, काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको प्रदेश २–०३ –००१ ख ६३४८ नम्बरको मालवाहक ट्रकमा लागुऔषध चरेस राखिएको थियो । विशेष सूचनाको आधारमा पर्साको प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले परवानीपुर चोकबाट ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको हो ।

उक्त चरेस नेपाल हुँदै भारततर्फ लैजाने तयारी गरेको खुलेको छ । प्रहरीले ट्रकलाईसमेत नियन्त्रणमा राखेको छ । एसपी मिश्रका अनुसार, चरेस ट्रकको पछाडि सामान बोक्ने भागमा प्लास्टिकमा पोका पारेर राखेका थिए ।

ट्रक चालकको साथबाट प्रहरीले एक लाख ९२ हजार रुपैयाँसमेत बरामद गरेको छ । पर्सा प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त चरेस धादिङबाट लोड भएको खुलेको हो । पक्राउ परेका बुद्धिबहादुरले प्रहरीसितको प्रारम्भिक बयानमा चरेस धादिङबाट लोड गरेर भारत लैजाने योजना रहेको बताएका छन् ।