काठमाडौं—मधेस प्रदेशको आगामी आर्थिक वर्षको बजेटलाई लिएर सरकारको नेतृत्वकर्ता दल जनमत पार्टी नै असन्तुष्ट भएर सरकार नै छाड्नेसम्मको चर्चा भइरहँदा विपक्षी दलले पनि बजेटको छलफलमै सहभागी नहुने निर्णय गरेको छ ।
बिचौलियाको स्वार्थमा रेडबुकममा बजेट राखिएको भन्दै पाँच विपक्षी दलले संयुक्तरुपमा सदनको बैठकमा सहभागी नहुने निर्णय गरेको माओवादीका प्रदेश सांसद युवराज भट्टराईले जानकारी दिए । उनका अनुसार बिहीबार बसेको विपक्षी मोर्चाको बैठकले बजेटमा बिचौलियाको प्रवेश भएको ठहर गरेको छ । त्यसकारण बजेटको बारेमा हुने कुनै पनि छलफलमा नजाने विपक्षी मोर्चाको निर्णय गरेको उनले बताए ।
मधेस सभामा विपक्षी मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, राप्रपा र नेपाल संघीय समाज वादी पार्टी रहेका छन् । सत्ताको नेतृत्वकर्ता दल र प्रतिपक्षले समेत बजेटको विषयमा विरोध जनाउन थालेपछि प्रदेशसभाको बैठक अर्को सूचना प्रकाशन नहुँदासम्मको लागि स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
कांग्रेसका अर्थमन्त्री सुनिल यादवले जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहलाई समेत बाइपास गरेर बजेट ल्याएको आरोप लागेको छ । बजेटमा बाइपास गरिएको भन्दै जनमतले सरकारमा बस्ने वा छोड्ने भन्ने विषयमा छलफल थालिसकेको छ । मधेस सरकारले १ असारमा ४६ अर्ब भन्दा बढीको बजेट ल्याएको थियो ।
प्रतिक्रिया