काठमाडौं—पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोप लागेका पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको थुनछेक बहस जारी छ । विशेष अदालत, काठमाडौंमा जारी थुनछेक बहसमा वरिष्ठ अधिवक्ता सुशिल पन्तले सुरुमै बहस थालेका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट पन्तले बहस गरेका हुन् ।
उक्त जग्गा हदबन्दी छुटको निर्णय गर्दा सरकारलाई हानी भए नभएकोबारे पनि इजलासले प्रश्न गरेको छ । हदबन्दीभन्दा बढी जग्गा किन्न अनुमति दिएकाले नेपाललाई थुनामै राखेर मुद्दाको अन्तिम सुनुवाइ गर्नुपर्ने तर्क पन्तले गरेका छन् । आजै अदालत उपस्थित भएका नेपालको बयान सकिएलगत्तै केहीबेरबाट थुनछेक बहस थालिएको हो ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको तर्फबाट बहस गर्ने भनी करिब एक सय बढी कानुन व्यवसायीहरूले वकालतनामा भरेका छन् । बहस गर्ने कानुन व्यवसायीहरूका लागि वकालतनामाको फारममा पूर्वप्रधानमन्त्री नेपालले हस्ताक्षर गरेर राखिदिएका थिए ।
वकालतनामा भरे पनि दुवैतर्फका सबै कानुन व्यवसायीहरू आजको थुनछेक बहसमा सहभागी हुन पाउने छैनन् । सीमित समयमा संक्षिप्त बहस गर्नुपर्ने भएकाले दुवैतर्फबाट छानिएका सीमित कानुन व्यवसायीले मात्रै बहस गर्न पाउनेछन् ।
प्रतिक्रिया