इरानको लगातार आक्रमणमा इजरायलको दक्षिणी सहर बेअरशेबामा कम्तीमा ३ जनाको मृत्य भएको छ । इरानले इजरायलतर्फ एकपछि अर्को क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा ३ जनाको मृत्यु भएको इजरायली सञ्चारमाध्यमले जनाएको छ ।
मृत्यु हुनेमा दुई जना ४० वर्षको हाराहारीका पुरुष र महिला, र एक जना २० वर्षका पुरुष रहेका छन् । त्यहाँ केही नागरिक घाइते भएको बताइएको छ । इजरायली सञ्चार माध्यमका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच ‘१२ दिनको युद्ध’ अन्त्य गर्न युद्धविराममा सहमति भएको बताएपछि यो हमला भएको हो । ट्रम्पले घोषणा गरेअनुसार इरान–इजरायलबीच युद्धविराममा सहमति भएको दाबी गरिए पनि अहिलेसम्म इजरायलले औपचारिक रूपमा यसको पुष्टि गरेको छैन। इरानले भने आफ्नो पक्षबाट युद्धविराम स्वीकारेको सरकारी टेलिभिजनमार्फत जनाईएको छ ।
ट्रम्पले आफ्नो सोसल पोस्टमार्फत घोषणा गरे अनुसार इरान र इजरायलबीच पूर्ण युद्धविराम लगभग ६ घण्टामा सुरु हुने बताए पनि इजरायलले अहिलेसम्म युद्धविराम स्वीकृत गरेको छैन । इजरायली सञ्चार माध्यमका अनुसार इरानद्वारा गरिएको पछिल्लो आक्रमणमा क्षति पुगेका तीन भवनमा मानिसहरू फसेको आशंका गरिएको छ ।
प्रतिक्रिया