काठमाडौं । नियमित कार्यसूचीअनुसार नै प्रश्नोत्तरमा सहभागी हुन संसद पुगेका प्रधानमन्त्री केपी शर्मा ओली फरक्क फर्किएर आउनुप¥यो । भिजिट भिसाको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यसूचीबाटै हटाइदिए । अर्थात् प्रधानमन्त्री संसदमै बहिष्कारमा परे । फलतः बैठक कक्षबाट बाहिरिएका उनले विरोधका कारण बोल्न पाउनुभएन भनी सञ्चारकर्मीले प्रश्न राख्दा मुस्काउँदै व्यङ्ग्य मिश्रित जवाफ दिए– मज्जा लाग्यो ?
गत महिना पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा मुद्दा चल्यो । यसमा ओलीकै पनि तजबीज देखिँदा अग्नि सापकोटाविरुद्ध पनि मुद्दा चल्ने बाटो खोल्यो । यसमा पनि ओलीकै नाम जोडियो भने अध्यागमनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छापा र गृहमन्त्री रमेश लेखकसम्म प्रश्न पुग्नुमा पनि ओली जोडिए । किनभने उनको इसाराबिना यो सम्भव नै नभएको बताइँदा विपक्षीले यसैलाई मुद्दा बनाएर संसद अवरुद्ध गरे । फलतः माधव र अग्निको मुद्दा ओलीले अवरुद्ध संसद खोल्ने रणनीतिकै रूपमा प्रयोग गरे । तर यसले विपक्षी तर्सिने होइन, शङ्कित हुने अवस्था बन्यो ।
उल्टै कांग्रेस–माओवादी नजिकिने अवस्था बन्दा अहिले पुष्पकमल दाहाल प्रचण्ड फकाउनुपर्ने बाध्यतामा ओली पुगेका छन् । अर्थात् एमालेविहीन कांग्रेस–माओवादी बैठकले आफैँ तर्सिने अवस्थामा ओली पुगे । यति मात्र होइन, अहिले कुलिङ पिरियडका विषयमा पनि ओलीमाथि प्रश्न उठेको छ । जुन व्यवस्थाप्रति ओलीको असहमतिले सङ्घीय निजामती विधेयक नै ‘होल्ड’ गरिएकोमा कांग्रेसले असन्तुष्टि जनाएको छ । अर्थात् ‘कुलिङ पिरियड’मा प्रधानमन्त्रीबाटै राजनीति भएको भन्दै गुनासो गरेको कांग्रेसले भने कुनै हालतमा पछि नहट्ने भन्दै यसलाई इगोको मुद्दा बनाइरहेको छ । जसले सत्तासहयात्री र कर्मचारीको दोहोरो पेलानमा प्रधानमन्त्री ओली परेका छन् ।
यसले सत्ता र संसदमा ओलीको सकस देखाउँदा पार्टीभित्रै पनि उनीमाथि प्रश्न बलियो बन्दै छ । विशेषतः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता बढाएकी छन् भने उनको पक्षमा केही नेता कार्यकर्ता खुलेरै लागेका छन् । उमेरहदको विषयमा समेत ओलीले चाहेजस्तै नहुने अवस्थाले यो बढी चर्चामा रहँदा मङ्गलबार ओली र भण्डारीबीच एक्लाएक्लै भेटघाट नै भएको थियो । ओलीलाई भेटेर भण्डारीले अहिलेसम्म भएका भेटघाटहरू, नेता तथा कार्यकर्ताहरूले व्यक्त गरेका धारणा र पार्टी राजनीतिमा आफ्नो सम्भावनाबारे बताएकी थिइन् । यसले अब ओलीले चाहेजसरी मात्र नचल्ने स्पष्ट सङ्केत मिल्दा उनी चौतर्फी घेरिन थालेका हुन् ।
(बाकी सामाग्री भिडियोसहित)
प्रतिक्रिया