समाचार

रास्वपाले मनायो तेस्रो स्थापना दिवस, सभापति लामिछानेको बचाउमा हस्ताक्षर संकलन


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज तेस्रो स्थापना दिवस मनाएको छ । पार्टी स्थापना भएको तीन वर्ष पुगेको अवसरमा रास्वपाले सभापति रवि लामिछानेको बचाउ र भ्रष्टाचारविरुद्ध खबरदारी गरेर स्थापना दिवस मनाएको हो ।

पार्टीले माइतीघरमा एक कार्यक्रमकाबिच सभापतिलाई प्रतिसोध राखेर कानुनी झमेलामा फसाएको भन्दै हस्ताक्षर संकलन गरेको छ । हस्ताक्षर संकलन अभियानका लागि रास्वपाले चन्दा संकलन पनि सुरु गरेको छ ।

सभापति लामिछानेमाथि सरकारले साँधेको प्रतिसोधका विरुद्ध लाखौ हस्ताक्षर संकलन गरिने उपसभापति स्वर्णिम वाग्लेले जानकारी दिए । साथै उनले रास्वपाको गति रोक्नका लागि सरकारले सभापति लामिछानेलाई कानुनी झमेलामा पारेको उल्लेख गरेका हुन् ।

यसअघि वृहत कार्यक्रम गरेर स्थापना दिवस मनाउने रास्वपाले यसपटक पार्टी सभापति लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा भएकाले सडकमा हस्ताक्षर संकलन गरेर मनाएको हो ।

वैकल्पिक राजनीतिको नारासहित २०७९ असार ७ गते पार्टी स्थापाना भएको थियो ।