काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।
उनीहरुबीच गभर्नर नियुक्तिको विषयमा छलफल भएको जनाइएको छ । देउवाले ओलीलाई ४८ घण्टाभित्र आफूले चाहेको मान्छेलाई गभर्नरमा नियुक्त गर्न अल्टिमेटम दिइसकेका छन् ।
आइतबार साँझ ओली र देउवाबीच भेटवार्ता हुने तय भएको थियो । तर, देउवा ओलीलाई भेट्न बालुवाटार गएनन् । देउवा ओलीको भेट हुन नसकेपछि गभर्नर नियुक्ति लगायत एजेन्डामा छलफल गर्न बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अकस्मात स्थगित भएको थियो ।
गत चैत २५ गतेयता केन्द्रीय बैंक नेतृत्वविहीन छ। विभिन्न स्वार्थ समूहको दाउपेच र सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्व तहमा कुरा मिल्न नसकेका कारण गभर्नर नियुक्ति हुन सकेको छैन ।
गभर्नर नियुक्त गर्न आनकानी गरेको भन्दै ओलीसँग देउवा असन्तुष्ट छन् । ओली र देउवाको सम्बन्ध चिसिएपछि कतै सरकार ढल्ने होइन ? भन्ने प्रश्न समेत खडा भएको छ । पछिल्लो समय सरकार ढल्ने चर्चा निकै हुने गरेको छ । काग्रेस नेताहरुले प्रधानमन्त्री ओलीले मनपरि गरिरहेको आरोप लगाएका छन् ।
प्रतिक्रिया