काठमाडौं । नागरिक उन्मुक्ति पार्टीमा पुनः रेशम चौधरी दम्पत्तीबीच शक्ति संघर्ष चुलिएको छ । मन्त्री नियुक्तीमा श्रीमती रन्जिता श्रेष्ठको निर्णयमा श्रीमान रेशमले अड्को थापेपछि लफडा सुरु भएको हो ।
सुरुवातमा चर्चा गरौं, सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री बनाउने विषयमा देखिएको रडाकोबाट । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्तिको भागमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परेको थियो । तर तत्कालिन उद्योगमन्त्री लक्ष्मणकिशोर चौधरीले आर्थिक लेनदेनको अडियो प्रकरणमा मुछिएपछि गत चैत १६ मा राजीनामा दिए ।
जसको झण्डै डेढ महिनापछि नयाँ मन्त्री पठाउने सन्दर्भ सुरु त भयो । तर रेशम र रञ्जिताबीच आ–आफ्नै पक्षधरका मन्त्री पठाउने विषयमा नाटक मञ्चन हुन थालेको छ । अध्यक्ष रञ्जिताले आफू अनुकुलका सांसद कैलाश चौधरीलाई मन्त्री नियुक्त गर्न सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन र मुख्यमन्त्री कमलबहादुर शाहलाई सिफारिस गरिन् । तर पार्टी संरक्षक तथा रेशम चौधरीले रञ्जिताको निर्देशन कार्यान्वयनमा रोक लगाइ दिए ।
जहाँ रेशम पक्षधरले घनश्याम चौधरीको नाम सिफारिस गर्ने निर्णय गर्यो । तर घनश्याम चौधरी मन्त्री बन्नबाट एकाएक पछाडि हटेपछि पूर्वमन्त्री समेत रहेका रामेश्वर चौधरीको नाम सिफारिस गरियो । तर उनलाई संसदीय दलमा मन्त्री पठाउने कुनै निर्णय नभएको र विधि विधान ऐन कानून विपरित ढङ्गले रामेश्वर चौधरीलाई तोकेकोले उनलाई सपथ नखुवाउन भनियो ।
पार्टीभित्रको निर्णयमा श्रीमान–श्रीमतीको यो तमाशाले मन्त्रीका लागि तम्तयार रहेका सांसदहरु यतिबेला हैरानीमा परेका छन् । यसअघि पनि सूदुरपश्चिम प्रदेशमा श्रीमान–श्रीमतीको झगडाले पावर सेयरिङमा कुरा नमिल्दा मुख्यमन्त्री पद गुमेको थियो । अहिले दोहोरिएर सोही तमासा सुरु भएपछि पोल्टाको भाग नखोसिएला भन्न सकिन्न ।
रेशम–रञ्जिता दम्पतीको खटपटबाला चटकले दुनिया चकित भै सके । नाउपाभित्रको पारिवारिक बेमेलले नेता–कार्यकर्ता चिन्तित बन्दा मध्यरातमा पार्टी संरक्षकको माया पिरतिका फिलिङ फेसबुकबाट आउँछ । सार्वजनिक मञ्चमै पनि यो जोडिको अस्वभाविक नाटकले प्रष्ट देखिन्छ । जहाँ उनीहरु एकले अर्कालाई आँखा जुधाएरसमेत हेर्दैनन् ।
यो त भयो मन्त्री सिफारिसमा श्रीमान श्रीमतीको लफडा । अब चर्चा गरौं । ससुरा बुहारीबीचको जुहारी । गत बैशाख १७ गते रेशम अदालतका कर्मचारीको सन्की निर्णयले पक्राउ परे । पत्र नक्कली प्रमाणितपछि केही घण्टामै उनी छुटे । त्यसपछि रेशम पक्राउमा गृहमन्त्रीको जवाफ खोज्दै रञ्जिताकै अग्रसरतामा नाउपाले सदननै अवरोध गर्यो ।
तर प्रमुख सचेतकसमेत रहेका रेशमका बुवा तथा रञ्जिताका सुसुरा लालविर चौधरीले बुहारीमाथि गम्भिर आरोप लगाए । आरोप थियो, गृहमन्त्रीले जवाफ दिन खोज्दा रञ्जिताले रोकेको । बुहारीसँग चित्त नबुझेपछि ससुराले पनि असन्तुष्टि फेसबुक स्टाटसमार्फत पोस्टाईहाले । कतिलाई त लाग्दो हो, यो परिवारमा प्रत्यक्ष संवाद र फोनमा कुराकानी हुँदैन कि क्यायो ? जहाँ उनले लेखे, गृहमन्त्री ज्युले जवाफ दिने तयारीमा रहँदा पार्टी अध्यक्ष जवाफ दिनु पर्दैन मैले संरक्षक ज्यु सँग कुरा मिलाइसकेको छु भन्नु कस्तो खालको षड्यन्त्र हो ? यसको जवाफ पार्टी अध्यक्ष ज्युले दिनुपर्छ ।
प्रतिक्रिया