सगरमाथा संवादको पहिलो संस्करण काठमाडौमा सुरु भएको छ । नेपालको पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याइरहेको सङ्कट र यसले पारेको वित्तीय असरका उदाहरण प्रस्तुत गर्दै अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उदेश्य लिइएको छ ।
‘जलवायु परिवर्तन, हिमाल र मानव भविष्य’ अवधारणामा केन्द्रित सगरमाथा संवाद काठमाडौंमा सुरु भएको छ । तयारीका चरणमा सरकारले भारत र चीन र दक्षिण एसियाली देशका राष्ट्रप्रमुख वा सरकार प्रमुखकै उपस्थितीको अपेक्षा गरे पनि त्यो भने पूरा भएन । चीनबाट जनकांग्रैस उपाध्यक्ष, सियाओ जी, भारतबाट वनमन्त्री भूरेन्द्र यादव, कोप–२९ का अध्यक्ष मुख्तार बाबायेभ, भुटानका ऊर्जामन्त्री जेम छिरिङ, बंगलादेशकी सामाजिक कल्याण मन्त्रालयकी सल्लाहकार शर्मिन सोनेया मुर्शिद भौति रुपमा उपस्थित भएका छन् भने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भर्चुअल सन्देश पठाएका थिए । बिभिन्न देशका अरु १ सय ७५ विदेश पाहुना उपस्थित छन् ।
नेपालको पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याइरहेको सङ्कट र यसले पारेको वित्तीय असरका उदाहरणहरु प्रस्तुत गर्दै अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने आयोजित सगरमाथा संवादको उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री के.पी शर्मा ओलीले हिमालहरु विश्वका विभिन्न वार्ताहरुमा उपेक्षित हुने गरेको भन्दै हिमाललाई नबिर्सिन विश्वसँग खबरदारी गरेका छन् । हिमालले नै जलवायु सन्तुलन राख्ने र पानीको भण्डारण भएकाले हिमालहरू उपयुक्त सम्मानका हकदार रहेको बताए । स्वच्छ ऊर्जामा लगानी बढाउनुपर्ने तथा जलवायु–उत्थानशील बालीहरू बढाउनुपर्नेमा जोड दिँदै जोखिम मूल्याङ्कन बलियो बनाउन विश्वका नेताहरुसँग आह्वान गरेका छन् ।
यस्तै परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनबाट नेपाल र विश्वकै वातावरण हाल जोखिममा रहेकाले इमान्दार संवाद र प्रभावकारी कार्यको अभावले मानवताको भविष्यलाई पनि ठूलो खतरामा पार्नसक्ने बताएकी छिन् । नेपालले हालैका वर्षहरूमा विनाशकारी तथा श्रृंखलाबद्ध गम्भीर मौसमी समस्याहरु भोगिरहेको बताउँदै बाढी र हिमनदी विस्फोटन, खडेरी, पानीको अभाव र वन डढेलोजस्ता समस्याले देशभर ठूलो क्षति भएको उल्लेख गरेका छन । जलवायु परिवर्तन अब कुनै क्षेत्र वा देश विशेषको नभएको बताउँदै विश्वव्यापी संकटसँग जुध्नका लागि कुनैपनि देशको आफ्नो एक्लो प्रयास पर्याप्त नभएको उनको बुझाई छ ।
कार्यक्रममा सम्बोधन गर्दै कोप–२९ का अध्यक्ष एवं अजरबैजानका प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायेभले जलवायु परिवर्तनका असरबाट कुनै पनि राष्ट्र अछुतो नरहेको बताउँदै हिमालय मुलुकहरुले भोगीहरुको समस्याप्रति ठुला शक्ति राष्ट्रहरु गम्भिर हुन जरुरी रहेको बताएका छन । छिमेकी मुलुक भारत र चीनका प्रतिनिधिहरुले जलवायु परिवर्तनसम्बन्धी आफ्नो भनाइ र प्रतिबद्धता व्यक्त गरेका छन् ।
जेठ ४ गतेसम्म चल्ने सगरमाथा संवादको पहिलो संस्करणमा उद्घाटनलगत्तै उच्चस्तरीय प्रमुख सत्रपछि समानान्तर सत्र सञ्चालन भएका छन् । पवर्तभन्दा पर ः पवर्तलाई समुद्रसँग जोड्दै (बियोन्ड माउन्टेन्स ः लिंकिङ माउन्टेन्स टु ओसन) भन्ने थिममा चार वटा प्यानल सेसनहरू सञ्चालन भएको हो । हिमालयको मनोरम दृश्यावलोकन तथा जलवायु परिवर्तनले ल्याएका चुनौतीका बारेमा अवगत गराउँदै अन्तिम दिन काठमाडौँ घोषणापत्र जारी गरिनेछ । उक्त घोषणापत्र ब्राजिलमा आयोजना हुने आगामी कोप–३० मा नेपालका हिमाल संरक्षणका लागि बलियो पहल हुने विश्वास लिइएको छ ।
प्रतिक्रिया