काठमाडौं—जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने र समाधानका उपाय खोज्ने उद्देश्यले सरकारले पहिलो पटक ‘सगरमाथा संवाद’ आजदेखि सुरु गर्दै छ । सगरमाथा संवादको प्रमुख नारा‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय गरिएको छ ।
संवाद जेठ ४ गतेसम्म सञ्चालन हुने छ।परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिकी संयोजक डा. आरजु राणा देउवाले संवादमा १७५ विदेशी पाहुना सहभागी हुने बताउनुभयो । उदघाटन समारोहमा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त श्रव्यदृश्य सामग्री प्रस्तुत गरिने छ।
संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पठाएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिने छ। उद्घाटनपछि ‘प्लेनरी सेसन’ आयोजना हुने छ। यस सत्रमा सहभागी सबै राष्ट्र र अन्तरराष्ट्रिय एवं क्षेत्रीय संगठनको प्रस्तुति रहने छ।प्रत्येक दुई वर्षमा सगरमाथा संवादको आयोजना गर्ने सरकारले निर्णय गरेको छ।
प्रतिक्रिया