Breaking

उमागौरी सहकारी प्रकरण : मिसिल झिकाउने आदेश


काठमाडौं—उच्च अदालत विराटनगरले उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दाको सक्कल मिसिल झिकाउने आदेश दिएको छ । जिल्लाको आदेशविरुद्ध परेको निवेदनको सुनुवाइका लागि बिहीबार कामु मुख्यन्यायाधीश ध्रुवराज नन्दको इजलासले सक्कल मिसिल झिकाउने आदेश दिएको हो ।

यो सहकारीको बचत अपचलन मुद्दामा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइराला पनि प्रतिवादी छिन् । जिल्ला अदालत मोरङले पुर्पक्षका लागि १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध सरकारी वकिल उच्च अदालत पुगेको थियो । उच्चमा दुई न्यायाधीशबीच राय बाझिएपछि अर्को बेञ्च तोकिएको थियो ।

मोरङको धनपालथान–४ स्थित उमागौरी सहकारी संस्थाको बचत अपचलन मुद्दामा कोइरालासहित ६ जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि धरौटीमा छाडेको थियो ।

अध्यक्ष सम्भुप्रसाद रौनियारसहित दुई सञ्चालकलाई थुनामा पठाएको थियो । जिल्लाको आदेशविरुद्ध परेको रिटको सुनुवाई गर्ने क्रममा बैशाख ११ गते उच्च अदालत विराटनगर न्यायाधीश श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बाँस्तोलाको राय बाझिएको थियोे ।