अन्तर्राष्ट्रिय

मध्यपूर्वमा ट्रम्प : अमेरिका–साउदी ऐतिहासिक हतियार सम्झौता


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला साउदी अरेबिया, कतार र युएईको चारदिने भ्रमणमा छन् । भ्रमणकै क्रममा अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको रक्षा सम्झौतामा हस्ताक्षर भएको छ । आज कतार पुगेका ट्रम्प बिहीबार टर्कीमा हुने रुस–युक्रेन युद्धविराम वार्तामा जाने सम्भावना बढेको छ ।

आफ्नो चारदिने मध्यपूर्वको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरेबियाको भ्रमण सकेर कतार पुगेका छन् । दोहामा एयर फोर्स वानबाट ओर्लने क्रममा कतारी अमिर शेख तमिम बिन हमाद अल थानीले ट्रम्पलाई रेड र्कोटमा भब्य स्वागत गरेका थिए । त्यसपछि अमिरी दिवान पुुगेका ट्रम्पलाई भब्य स्वागत गरिएको थियो ।

यसअघि उनले साउदीको राजधानी रियादमा अमेरिका र खाडी सहयोग परिषद् (जीसीसी) सदस्यहरूको शिखर सम्मेलनमा सम्बोधन गरेका थिए । त्यसक्रममा उनले खखोडी देशहरुसँग अमेरिकाको रणनीतिक प्रतिबद्धता पुनः दर्शाएका छन् । सोही कार्यक्रममा ट्रम्पले सिरियाका राष्ट्रपति अहमद अल–शारासँगसमेत भेट गरेका थिए । समाचार एजेन्सीहरुका अनुसार ट्रम्प बिहीबार टर्की जाने ‘सम्भावना’ बढेको छ । रियादबाट निस्कँदै गर्दा पत्रकारहरुसँग कुराकानी गर्दै ट्रम्पले बिहीबार रुस–युक्रेन युद्धमा योजनाबद्ध वार्ताका लागि टर्की जाने सम्भावना रहेको बताएका थिए । भोली टर्कीमा रुस र युक्रेनबीच युद्धविरामका लागि वार्ता हुँदैछ ।

यसअघि बुधबार साउदी अरब भ्रमणका क्रममा १ खर्ब ४२ अर्ब डलरको महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर भएको छ । ह्वाइट हाउसले सम्झौता अनुसार साउदी अरबले एक दर्जनभन्दा बढी अमेरिकी रक्षा फर्महरूबाट अत्याधुनिक युद्ध लडाइँसम्बन्धी उपकरण तथा सेवाहरू प्राप्त गर्नेछ । दुई देशबीच भएको सम्झौता इतिहासकै ठूलो रक्षा सम्झौता भएको ह्वाइट हाउसको भनाइ छ । सम्झौतामा राष्ट्रपति ट्रम्प र साउदी युवराज मोहम्मद बिन सलमान (एमबीएस)ले हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा वायु सेनाको उन्नति र अन्तरिक्ष क्षमता, हवाई तथा क्षेप्यास्त्र रक्षा, समुद्री तथा तटीय सुरक्षा, सीमा सुरक्षा र स्थल सेनाको आधुनिकीकरण तथा सूचना तथा सञ्चार प्रणालीको स्तरोन्नति लगायतका विषय समावेश छन् । त्यस्तै दुई देशबीच ऊर्जा, खनिज स्रोत, संक्रामक रोगसम्बन्धी सहयोग लगायत विषयमा पनि सहमति भएको छ । सम्झौतामा हस्ताक्षर गर्ने क्रममा राष्ट्रपति ट्रम्पले साउदी युवराजलाई साथीको रूपमा सम्बोधन गरेका थिए । साउदी अरबले ‘अमेरिकामा लगानी गर्ने प्रतिबद्धता’ समेत जनाएको छ । अमेरिका वरपरका कृत्रिम बुद्धिमत्ता तथ्यांक केन्द्रमा साउदीको २० अर्ब डलरको लगानी छ । अमेरिकी प्रविधि फर्महरूबाट दुवै देशमा अत्याधुनिक रूपान्तरणकारी प्रविधिमा ८० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता गरेका छन् । त्यस्तै, साउदी अरबले १४ अर्ब २० करोड डलरको ग्यास टर्बाइन र ऊर्जा समाधान तथा ४ अर्ब ८० करोड डलरको बोइङ ७३७ यात्रुवाहक विमान निर्यात गर्ने भएको छ ।

गत २० जनवरीमा ट्रम्पले पदभार ग्रहण गरेलगत्तै भएको एक टेलिफोन कुराकानीमा साउदी युवराजले चार वर्षभित्र अमेरिकामा ६ खर्ब अमेरिकी डलर लगानी गर्ने वाचा गरेका थिए । सन् २०१७ मा ट्रम्पले १ खर्ब १० अर्ब डलरको सैन्य उपकरणसहित ४ खर्ब ५० अर्ब डलरभन्दा धेरैको सम्झौता भएको दाबी गरेका थिए । यसपटकको भ्रमणबाट ट्रम्पले साउदी अरबबाट १० खर्ब डलरसम्मको लगानी भित्र्याउने बताइएको छ । यता इरानसँगको आणविक कार्यक्रम सम्झौता र गाजामा इजरायल–हमास युद्ध अन्त्यका लागि प्रयास भइरहेका बेला ह्वाइट हाउसका लागि ट्रम्पको साउदी अरब भ्रमण कूटनीतिक रूपमा निकै महत्वपूर्ण छ ।

ट्रम्प प्रशासनले यस वर्षको सुरूमा युक्रेनमा युद्ध कसरी अन्त्य गर्ने भन्ने विषयमा साउदी राजधानी रियादमा रूस र युक्रेन दुवैसँग वार्ता गरेको थियो । यो यात्रालाई ट्रम्प प्रशासनले साउदी नेतृत्वसँग रणनीतिक सम्बन्धलाई पुनः सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ । यमन युद्धपछि साउदी–अमेरिका सम्बन्धमा आएको चिसोपनलाई हटाउन र मध्यपूर्वमा अमेरिकी भूमिका बलियो बनाउने उद्देश्य पनि यसमा छ । यसका साथै क्षेत्रीय सुरक्षामा सहकार्य, इरानको प्रभाव नियन्त्रण र ऊर्जा सहकार्यलाई पनि अमेरिकाले प्राथमिकतामा राखेको छ । साउदी, कतार र यूएईका नेताहरूसँगको सम्बन्ध बलियो बनाउँदा महत्त्वपूर्ण राजनीतिक र आर्थिक लाभ प्राप्त हुने ट्रम्पको ठम्याइ छ ।
०००