समाचार

सैनिक कल्याणकारी घोटाला प्रकरण : पूर्वप्रमुख सेनानी लक्ष्मण अधिकारीविरुद्ध डिफ्युजन नोटिस जारी


काठमाडौं—सैनिक कल्याणकारी कोषको दुई करोड रुपैयाँ घोटाला प्रकरणमा फरार रहेका नेपाली सेनाका पूर्वप्रमुख सेनानी लक्ष्मण अधिकारीविरुद्ध डिफ्युजन नोटिसको प्रक्रिया अघि बढाइएको छ ।

अदालतमा मुद्दा दर्ता भएर फरार रहेका अधिकारी देश बाहिर रहेको भन्दै पक्राउका लागि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गर्न लागिएको हो । यसका लागि नेपाली सेनाले समेत कागजात लेखेर जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइसकेको छ ।

अब जिल्ला प्रहरी परिसर काठमाडौंले अदालतमा दर्ताको मुद्दाको विवरणसहितका कागजात तयार पारेर प्रहरी प्रधान कार्यालयको नेसनल सेन्ट्रेल ब्यूरो (एनसीबी) लाई पत्र लेख्नेछ । त्यसपछि बल्ल एनसीबी काठमाडौंले इन्टरपोललाई पत्राचार गरेपछि नोटिस जारी हुनेछ ।

यही घोटाला प्रकरणमा यसअघि मुद्दा चलेर २८ वैशाखमा सेनाका पूर्वजमदार आत्मराम थापा कारागार चलान भएका थिए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले पुर्पक्षका लागि थापालाई कारागार चलानको आदेश दिएको थियो ।

बहालवाला सहायक रथी रोशन खड्का र बहालवाला सेनानी बोधराज कार्कीसमेतको मिलेमतोमा सैनिक कल्याणकारी निर्देशनालय अन्तर्गतको आवास तथा बीमा शाखाबाट २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ घोटाला भएको थियो ।